अत्तरिया महोत्सवबाट चर्चामा आएकी टिकटक स्टार आँचल नाथको मृत्यु

धनगढी : टिकटक स्टार तथा कलाकार आँचल नाथको मृत्यु भएको छ । बिहिबार राति आफ्नै डेराको कोठामा जलेको अवस्थामा भेटिएकी नाथलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको थियो ।

आज (शनिबार) बिहान करिब ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । केहि बर्ष अगाडि अत्तरियामा सञ्चालित महोत्सवमा गायक पुष्कल शर्माले स्टेजमा गीत गाउँदा आँचल रोएरै नाँचेकी थिइन् । उक्त महोत्सवमा उनको अभिनयलाई लिएर धेरैले भविष्यकी कलाकारका रुपमा भाइरल बनाएका थिए । कतिले उनको आलोचनासमेत गरे ।

तर महोत्सवमा रोएको भिडियो क्लिपमार्फत् नै उनी चर्चित भइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको थिएन । सामाजिक सञ्चालमा उनलाई श्रद्धान्जली दिनेहरुको ओइरो लागेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी २२ वर्षीया नाथ पछिल्लो समय काठमाडौँमा डेरा बस्दै आएकी थिइन् । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले पेट्रोल छर्की जलाइएको दाबी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गराएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.