कृष्णपुरकी टिकटकर आँचल नाथको मृत्यु, आत्मदाह कि हत्या ?
केहि बर्ष अगाडि अत्तरियामा सञ्चालित महोत्सवमा गायक पुष्कल शर्माले स्टेजमा गीत गाउँदा आँचल रोएरै नाँचेपछि चर्चामा आएकी थिईन
अत्तरिया : कञ्चनपुर घर भएकी आँचल नाथ बिहीबार जलेको अवस्थामा भेटिएकी हुन । २२ वर्षीया टिकटकर आँचल नाथको मृत्यु भएको छ । उनको शनिबार दिउँसो १ बजेतिर उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएकी उनी काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी थिइन् । बिहीबार साँझ ४ बजेतिर उनको पेप्सीकोला नजिकै जडिबुटीबाट जलेको अवस्थामा उद्धार गरिएको थियो । स्थानीयले उनको उद्धार गरी काठमाडौँ मेडिकल कलेजमा पुगाएका थिए । उपचारका क्रममा उनको दुई दिनपछि शनिबार मृत्यु भएको हो । उनको शरीर पूर्णरुपमा जलेको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘उनको शरीर पूर्णरुपमा जलेको थियो । यहाँ लिनसाथ भेन्टिलेटरमा राखेर उपचार गरिएको हो । तर दिउँसो एक्पाएर्ड (मृत्यु) भयो’, अस्पताल स्रोतले भन्यो ।
आँचलको शवलाई पोष्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पताल राखिएको छ । आँचल पेप्सीकोलामा डेरामा बस्दै आएकी थिइन् । उनी जडिबुटीमा शरीरमा पेट्रोल छर्किएर आगो लगाएको अवस्थामा भेटिएकी थिइन् । उनको शरीरमा कसरी आगो लाग्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर प्रहरी दुई दिनसम्म उनले आफै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी हुन् कि कसैले उनलाई जलाएको हो भन्नेमा अनुसन्धानमै छ ।
तर आँचलका ५५ वर्षीय बुबा दशरथ नाथले छोरीको आगो लगाएर हत्या गरिएको बताउँछन् । ‘उसले (आँचल) आत्मदाह गर्ने भए त कोठैमा गर्थि नि । किन पेप्सीकोलाबाट जडिबुटी पुग्थि र ?’, फोनमा कुरा गर्दै दशरथले भने ।
छोरी जलेको दिन बिहीबार छिमेकी अर्को घरको कोठमा बस्ने एक महिलासँग झगडा भएको उनले सुनेका छन् । उनै महिलाको ग्यारेज (बाइक–गाडी बनाउने ठाउँ) भएको जेडिबुटीमै छोरीमाथि आगलागी भएको दशरथले बताए । उनै महिलासँग करिब महिना दिनअघि पनि झगडा भएको र प्रहरीमा मेलमिलाप भएको कुरा अहिले दशरथले थाहा पाएका छन् । ‘म गाउँमै थिएँ । त्यस्तै एक महिना पहिले पनि ती महिलासँग झगडा भएर प्रहरीमा मिलापत्र भएको थियो रे । अहिले उनकै ग्यारेज भएको ठाउँमै छोरीलाई जलाइयो’, आँचलका बुबाले भने ।
ती महिलाले आफ्नो श्रीमान्सँग लागेको भन्दै झगडा गरेको उनले बताए । अहिले पनि आँचललाई उनै महिलाले विभिन्न आरोप लगाएपछि बुझ्न उनकै पसलतिर छोरी गएको र त्यसैसमयमा शरीरमा आगो लगाइएको बुबा दशरथको आरोप छ । उनी महिला पनि पेस्पीकोला आँचलको कोठा नजिकै डेरा गरी बस्ने र पहिलेदेखि नै उनीहरू सँगसँगै टिकटक समेत बनाउने गरेको थाहा पाएको दशरथले बताए ।
दशरथलाई आँचलले आफै आगो लगाएर आत्मदाह गरेको बताइएकी थिईन । त्यस कुरामा उनी विश्वास गर्न सकिरहेका छैनन् । ‘छोरीले आफै आत्मदाह गरेको भनेर विश्वास गर्ने कुनै ठाउँ नै छैन । शंकैशंका छ’ उनले भने । प्रहरी स्रोतका अनुसार सोधपुछका लागि उनै महिलासहित तीन जना प्रहरी नियन्त्रणमा छन् ।
युरोप जाने भिसा आएको थियो आँचलको
आँचल घरकी छ दिदीबहिनीमध्य कान्छी छोरी हुन् । उनी विदेश जाने तयारीका लागि करिब दुई वर्षदेखि पेप्सीकोलामा बस्दै आएकी थिइन् । उनीसँग उनका भाइ पनि बस्दै आएका थिए । घटना हुनु १०–१५ दिनअघि भाई घर फर्किएका थिए । उनलाई यसअघि दिदीको र छिमेकी ती महिलाबीच विवाद भएको थाहा थियो । तर उनले पनि त्यो कुरा घरमा नभनेको बुबा दशरथले बताए । ‘बाबुलाई त सबै थाहा रहेछ । तर घरमा थाहा थिएन’, उनले भने ।
दशरथका पाँच छोरीको विवाह भइसकेको छ । आँचल र दुई छोराको भने विवाह हुन बाँकी थियो । दशरथले आँचलको विवाह नभएको बताए पनि कक्षा १० सम्म अध्ययन गरेकी आँचलले २० वर्षमै विवाह गरेकी थिइन् । तर, बिहेको दुई वर्षमा सम्बन्ध सकिएको थियो । टिकटकमा उनले श्रीमानले अर्को विवाहकाले छुट्टिनुपरेको सुनाएकी थिइन् । जीवनका आरोहअवरोहलाई छिचोल्दै उनी विभिन्न गीतमा मोडलिङ गर्दै अगाडि बढिरहेकी थिइन् । मोडलिङबाहेक टिकटकमा पनि उनको राम्रो फ्यान फ्लोइङ छन् । टिकटकमा व्यक्तिगत सम्बन्धका कुरा पनि सेयर गर्ने गर्थिन् । आँचलको भने युरोप जानका लागि भिसा आइसकेको थियो । ‘कुन देश हो मलाई पनि थाहा छैन । युरोप जाने भिसा आइसकेको थियो उसको’, बुबा दशरथले भने । दशरथ घरमा कृषि गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।
छोरीको जलेर मृत्यु भएपछि उनी अहिले बेहोस जस्तै छन् । फोनमै उनले भने– ‘मेरो त सबै होस उडेको जस्तै भएको छ ।’ छोरीको जलेको खबरपछि उनी शुक्रबार मात्र काठमाडौँ आएका थिए । छोरीको न्याका लागि अब प्रहरी प्रकृयामा सुरु गर्ने बताए ।
आगो लाग्नु पहिले आएको थियो मार्ने धम्की
काठमाडौंमा भाइसँगै डेरा बस्न गरेकी थिइन । भाइ दीपेन्द्र नाथ दिदीसँगै बसेर जापानिज भाषा पढिरहेका छन् । दिदीभाइ आ–आफ्नो लक्ष्य पूरा गर्न काठमाडौंमा संघर्षरत थिए ।
भाइ दीपेन्द्र दिदीले आत्मदाह गर्न नसक्ने बताउँछन् । उनले भने, ‘आँचल दुःख, पीडा र संघर्षसँग डराउने मान्छे होइन । काठमाडौंमा मोडलिङ क्षेत्रमा स्थापित हुन भनेर आएकी थिइन् । तर, उनको सफलता देखेर शत्रुले खुट्टा तान्ने प्रयास गरिरहे ।’
उनले केही केटाहरू उनको चरित्र हत्या गर्न लागेको बताए । ‘केही बदमास केटाहरूले दिदीको चरित्र हत्या गरिरहेका थिए । टिकटक लाइभमा आएरै उनीबारे नराम्रो कुरा बोल्थे’, उनी थप भन्छन्, ‘त्यतिबेलै उनीहरूलाई उजुरी दिएर कारबाही गर्नुपर्ने रहेछ । तर दिदी आफैँ टिकटकमा सक्रिय भइरहने भएर त्यो कुरालाई सामान्य मान्नु गल्ती भयो ।’ यो घटनामा सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने तीनजना युवकहरूमाथि शंका लागेको भाइ दीपेन्द्र बताउँछन् । ‘टिकटकपछि आँचललाई फोन गरेर मार्दिन्छु भन्नेसम्म धम्की दिएका थिए । प्रहरीले सबैभन्दा पहिले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । आत्मदाह हो वा अरुले आगो लगाए, छिटो छानबिन होस् ।’
बिहीबार साँझ आफ्नै डेरामा आँचल जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । त्यो दिन भाइ कोठामा थिएनन् । उनी कञ्चनपुर गएका थिए । घटनाको प्रारम्भिक अवस्था हेर्दा प्रहरीले आत्मदाहको शंका गरे पनि परिवारले शंकास्पद भएको दाबी गरेको छ ।
जीवनका आरोहअवरोहलाई छिचोल्दै उनी विभिन्न गीतमा मोडलिङ गर्दै अगाडि बढिरहेकी थिइन् । मोडलिङबाहेक टिकटकमा पनि उनको राम्रो फ्यान फ्लोइङ छन् । टिकटकमा व्यक्तिगत सम्बन्धका कुरा पनि सेयर गर्ने गर्थिन् ।
टिकटक लाइभमा आएर आफ्ना पीर–व्यथा पोखेको देख्दा केहीले मानसिक बिरामीको आरोप पनि लगाए तर भाइ उक्त आरोप स्विकार्दैनन् । भन्छन्, ‘उनी कलाकार हुन् । टिकटक कन्टेन्ट बनाउँदा रुनुपर्ने वा भावुक हुनुपर्ने हुन्छ । उनी मानसिक रुपमा बलियो मान्छे हुन् । उनलाई बिरामी भनेर जघन्य अपराधलाई सामान्य बनाउने प्रयास गरिएको छ ।’
दिदीले आफैंले पेट्रोल हालेर आफूलाई जलाउनै नसक्ने भाइ बताउँछन् । ‘मसँगै बसेकी हुन् । आफैँले पेट्रोल हालेर आगो लगाउन सक्ने मान्छे होइन । ऊ त्यो हदसम्म दुःखी भएको मलाई लाग्दैन । पीर परे, कसैसँग झगडा भए मसँग भन्थिन्,’ दीपेन्द्र थप्छन्, ‘मनमा कुरा गुम्स्याएर बस्ने मान्छे होइन । परिवार र साथीसँग कुरा सेयर गर्ने र आफूलाई हल्का बनाएर बस्ने बानी थियो ।’
कृष्णपुर नगरपालिकाका वडाध्यक्ष अर्जुन साउदले घटनामा संलग्नलाई कारबाही माग गरेका छन् । भन्छन्, ‘प्रारम्भिक सूचना अनुसार केही मानिस कोठामा आएको जानकारी मिलेको छ । यदि आत्महत्या प्रयास गरेकी भए पनि केही कसैले त्यो अवस्थामा पुर्याए होलान् । दुरुत्साहन गर्ने कोही तहोला ?’
अध्यक्ष साउदले केही सञ्चारमाध्यममा हचुवाका भरमा समाचार आएको बताए । ‘केही मिडिया र युटुबरले आफैँ आगो लगाएकी भनेर समाचार बनाएका छन् । अनुसन्धान नगरी यस्ता समाचार बनाइनु हुँदैन । कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि हत्या घटना मिडिया ट्रायलको कारणले आजसम्म टुङ्गो लाग्न सकेन’, उनी थप भन्छन्, ‘आँचलको हकमा पनि मिडिया ट्रायल हुने सम्भावना देखियो । सामाजिक सञ्जालमा कोही आफैं न्यायाधीश नबन्नुस् ।’
देशमा प्रधानमन्त्री पनि महिला भएकाले आँचलले न्याय पाउन ढिला गर्न नुहने साउद बताउँछन् । ‘किसान परिवारकी छोरी हुन् । जग्गा–जमीन राम्रै भएको परिवार हो । टिकटक र मोडलिङमा सफल हुँदै गर्दा उनीप्रति रिस गर्नेहरू थिए । गाउँमा मिजासिलो व्यवहार गर्ने उनी सरल स्वभाविक थिइन् । तर उनी आत्महत्याको बाटो रोज्ने केटी होइनन्’, उनले भने ।
केहि बर्ष अगाडि अत्तरियामा सञ्चालित महोत्सवमा गायक पुष्कल शर्माले स्टेजमा गीत गाउँदा आँचल रोएरै नाँचेकी थिइन् । उक्त महोत्सवमा उनको अभिनयलाई लिएर धेरैले भविष्यकी कलाकारका रुपमा भाइरल बनाएका थिए । कतिले उनको आलोचनासमेत गरे । तर महोत्सवमा रोएको भिडियो क्लिपमार्फत् नै उनी चर्चित भइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको थिएन ।