कैलालीको घोडाघोडीमा युवकको घाँटी रेटेर हत्यापछि स्थानीय त्रसित

अत्तरिया : कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा एक बीभत्स घटना घटेपछि सो क्षेत्रका स्थानीय त्रसित छन । शुक्रबार राति घटेको बीभत्स र क्रूर घटनाले सो क्षेत्रमा त्रास फैलिएको स्थानीयहरु बताउँछन् ।
घोडाघोडी नगरपालिका–८ जरैमा सामान्य विवादको निहुँमा एक युवकको घाँटी रेटेर हत्या गरेको हो । हत्यामा संलग्न दुई किशोरले मृतकको टाउको बोकी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । यस घटनाले स्थानीय क्षेत्रमा गहिरो त्रास भएको सोही ठाउँका रामबहादुर विकले बताए ।

‘यस्तो घटना त फिल्ममा मात्रै हुन्छ भन्थे, अहिले आफ्नै गाउँ ठाउँमा हुन थाले, कस्तो त्रास छ, यस्तो घटना फेरि पनि हुन नदिनले सुरक्षा निगरानी बढाउनुपर्छ, आआफ्ना बालबच्चा कस्तो बाटोमा छन् त्यो हेर्नुपर्छ,’उनले भने ।
प्रहरीका अनुसार, २८ वर्षीय केशर बहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार शुक्रबार राति खाजा खाने क्रममा उनीहरूबिच सामान्य भनाभन भएको थियो । त्यही विवाद यतिसम्म चर्कियो कि त्यसले एकजनाको ज्यानै लियो ।
‘घटनामा संलग्नको बयान लिन बाँकी छ, के कारण हत्या गरियो घटनाको बारेमा थप विस्तृत जानकारी बयानपछि अनुसन्धानपछि थाहा हुनेछ,’उनले भने ।

दुवै किशोरले धारिलो हतियारले बुढाको घाँटी छिनाएपछि मृतकको टाउको झोलामा राखेर करिब डेढ घण्टाको पैदल दूरीमा रहेको सुखडस्थित प्रतिखेत प्रहरी पोस्टमा आत्मसमर्पण गर्न हिँडेका थिए । उनीहरूको यो हर्कतले प्रहरीसमेत अचम्मित र स्तब्ध बन्यो । प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने रक्ताम्मे शरीर घटनास्थलमै छ ।
यो घटना भएको जरै बस्ती कैलालीकै मोहन्याल गाउँपालिकाको सीमा नजिक, जङ्गलको फेदमा रहेको छ । यहाँ कम घर थिए । पातलो बस्ती हो । मृतक केशर बहादुर बुढाको घर सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवन हो । त्यहाँ उनका आमाबुवा बस्छन् । उनको घोडाघोडी–८ जरैमा पनि घर छ ।

उनी श्रीमती र छोराछोरीसँगै यहाँ बस्दै आएका थिए । सुर्खेतबाट उनका आफन्तहरू कैलाली आइपुगेपछि मात्र शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया अगाडि बढाइने डीएसपी अवस्थीले जानकारी दिए । ‘प्रहरीले शव उठाउन आफन्तलाई कुहिरहेको छ,’उनले भने ।
प्रहरीका अनुसार अभियुक्तहरूले हत्या गरेको स्वीकार गरिसकेका छन्, तर उनीहरूको विस्तृत बयान लिन बाँकी छ । ‘यसको पछाडि अन्य कुनै गहिरो कारण छ, हामी त्यसको अनुसन्धान गर्दैछौं,’ डीएसपी अवस्थीले भने, यस्तो बीभत्स हत्या गर्नुको पछाडिको मनोविज्ञान बुझ्न जरुरी छ ।’ प्रहरीले घटनास्थललाई सिल गरेर थप प्रमाण सङ्कलन गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.