धनगढी,कार्तिक २।सुदूरपश्चिम प्रदेशमा दिपावली, छठ पर्व र आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश सुरक्षा संयन्त्रले समन्वित र सुदृढ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउने भएको छ।
चाडपर्वको रौनक र निर्वाचनको संवेदनशीलता दुवैलाई सन्तुलनमा राख्ने उद्देश्यले प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको हो।प्रदेश राजधानी धनगढीस्थित मुख्यमन्त्री निवासमा बसेको बैठकमा प्रदेशका सबै प्रमुख सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागीता थियो। बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको विशेष उपस्थिती रही, बैठकको संयोजन आन्तरिक मामिला तथा कानून मन्त्री हीरा साकीले गरेका थिए।
चाडपर्व र सीमावर्ती क्षेत्रको सुरक्षा उच्च प्राथमिकतामा: दिपावली र छठका अवसरमा भारत–नेपाल आवागमनमा वृद्धि हुने भएकाले सीमाक्षेत्रमा सुरक्षा चनाखो बनाइनेछ। मुख्य नाकाहरूमा एकीकृत सुरक्षा चेकपोइन्टहरू स्थापना गरिने र अन्तरदेशीय अपराध, लागुऔषध ओसारपसार तथा तस्करी नियन्त्रणमा कडाइ गरिने बैठकमा निर्णय गरिएको छ।
निर्वाचन लक्षित रणनीति:नागरिकमा सुरक्षाको प्रत्याभूति दिने तयारी: २०७९ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति अझ प्रभावकारी बनाइनेछ। सुरक्षाकर्मीहरूबीच समन्वयमा काम गरी निर्वाचनमा शान्ति, सुव्यवस्था र निष्पक्षता कायम राख्ने तयारी छ। प्रदेशभर एकीकृत रणनीति लागू गर्दै सुरक्षाको वातावरण निर्माण गर्ने सरकारको उद्देश्य रहेको मुख्यमन्त्री शाहले बताए।
सुरक्षा मात्रै होइन, बजार अनुगमन पनि सशक्त: पर्वको बेला उपभोक्तालाई असर पार्ने मूल्यवृद्धि, अखाद्य वा म्याद गुज्रेका सामग्रीको बिक्रीजस्ता क्रियाकलाप नियन्त्रण गर्न बजार अनुगमनलाई समेत तीव्र पारिने भएको छ। यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाइएको छ।
सार्वजनिक सेवा र सुशासनप्रति सरकारको प्रतिबद्धता: बैठकले सुरक्षा बाहेक सरकारी सेवा प्रवाहलाई अझ जनमुखी बनाउने र जनताको पहुँचमा पु¥याउने विषयमा पनि छलफल ग¥यो। सेवाहरू सरलीकरण, सबलीकरण र संस्थागत सुदृढीकरणमार्फत प्रभावकारी बनाउने तयारी गरिएको छ।बैठकमा प्रमुख जिल्ला अधिकारीहरू कृष्णप्रसाद लम्साल (कैलाली) र लक्ष्मण ढकाल (कञ्चनपुर), प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, सशस्त्र प्रहरी नायक महानिरीक्षक प्रदीप कुमार पाल, उपरथी किरण केसी, सह अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दहाल लगायत उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आपसमा समन्वय र सहकार्य गर्दै नागरिकमा सुरक्षाको अनुभूति दिलाउने प्रतिवद्धता जनाएका थिए।