तिहारको तेस्रो दिनः कुकुर तिहार,लक्ष्मी पूजा पनि आजै

काठमाण्डौ,कार्तिक ३। तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्दै छ।

सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ–याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ।

नरक चतुर्दशी: आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.