बैतडीको जगन्नाथ बाबा मन्दिरमा कार्तिक पूर्णिमाको दिन भव्य जात हुने

बैतडी,कार्तिक ९। सुदूरपश्चिम प्रदेशको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण स्थल बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४,गढीमा अवस्थित जगन्नाथ बाबा मन्दिरमा यस वर्षको कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भव्य मेला लाग्ने तयारी पूरा भएको छ।

नेपालको सुदूरपश्चिम क्षेत्रकै प्रमुख धार्मिक धरोहरका रूपमा परिचित यो मन्दिर धार्मिक श्रद्धा र आस्थाको केन्द्र मात्र नभई पर्यटकीय दृष्टिले पनि अत्यन्त आकर्षक गन्तव्यका रूपमा मानिन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन यहाँ हजारौं भक्तजन पूजाअर्चना र दर्शनका लागि आउने गर्दछन्।यस वर्ष पनि बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू मन्दिरमा दर्शन गर्न आउने अनुमान गरिएको छ।

सो अवसरमा मन्दिर परिसरमा भजन–कीर्तन, दीप प्रज्वलन, पूजा–अर्चना तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने बताइएको छ। धार्मिक कार्यक्रम अन्तर्गत कार्तिक १९ गते बिहान ४ बजेदेखि राति १० बजेसम्म पूजाअर्चना सञ्चालन हुनेछ।स्थानीय परम्परा अनुसार, कार्तिक पूर्णिमाको दिन जगन्नाथ बाबाको मन्दिरमा दर्शन तथा स्नान गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

यसैले यो दिन विशेष धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको मानिन्छ।मेलाका अवसरमा भक्तजनहरूले पूजापश्चात प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि राखिएको छ। साथै, भजन–कीर्तन र सामूहिक प्रार्थनाबाट सम्पूर्ण वातावरण भक्तिमय बन्ने अपेक्षा गरिएको छ।दशरथचन्द नगरपालिकाले यस मन्दिरलाई धार्मिक तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको जनाएको छ।

नगरपालिकाले मन्दिर क्षेत्रको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।स्थानीयवासीहरूले पनि मन्दिरको संरक्षण तथा विकासका लागि प्रदेश पर्यटन निकाय र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार जगन्नाथ बाबा मन्दिर सुदूरपश्चिमको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रतीक हो।

जसलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक छ।जगन्नाथ सेवा समितिका अध्यक्ष करणबहादुर चन्दले सम्पूर्ण भक्तजनहरूलाई मेलामा सहभागी भई आशीर्वाद प्राप्त गर्न आग्रह गरेका छन्। साथै पुजारी भण्डारी, करिया, दमाई, भूल, तिरुवा लगायत सम्पूर्ण समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगन्नाथ बाबाको सवारीमा सहभागी हुन आह्वान गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.