छठ पर्वको आज दोस्रो दिन,खरना विधि गरिँदै

कैलाली,कात्तिक ९।आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज (आइतबार) दोस्रो दिन खरना विधि गरिँदैछ।

जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ।खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सखर, दूध र गम्हरी चामल (मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल)को खीर पकाइन्छ।राति त्यहि खिर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले  खाने गर्छन्।कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ।

खरनामा नैवेद्य चढाइने बेलामा जति अघ्र्य दान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ।यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मुला, पान र सुपारी आदि राखिन्छ।नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ।नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन छ।श्रद्धा,निष्ठा,समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ पछि ब्रतालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्छन्।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख ब्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिइने छ।यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।त्यसैगरी, सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ।

उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा  ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।अघ्र्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ।मिथिला संस्कृतिका जानकार रामभरोस कापडिको अनुसार छठ पर्वमा बनाइएका प्रसाद ठकुवा,भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ।

उहाँले  भन्नुभयो, “पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ।अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ।पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाई गरिने कामलाई महत्त्वका साथ लिने गरिएको छ।

’’केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दु पनि बाक्लै मनाउन थालेका छन्।मिथिलामा इस्लाम धर्मावलम्बीले समेत ब्रतालुलाई अघ्र्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन्।यसले छठ पर्वलाई साझा बनाएको छ ।यस पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको समाजशास्त्री नागेन्द्र दुबे बताउनुहुन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.