सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अत्तरिया, १२ कात्तिक : डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामुदायिक वनको कोषको १८ लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएपछि अख्तियारले अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

मडैमाथि किर्ते गरेर सामुदायिक वनको रकम दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनले १० मंसिर २०७८ मा समितिको बैठक माइन्युटिङ्ग नक्कली तयार गरी सचिव र कोषाध्यक्षको जानकारी बिना किर्ते हस्ताक्षर गरेर चेकबाट रकम निकालेको प्रमाण भेटिएपछि मुद्दा अघि बढाइएको हो ।

मडैले १६ मंसिर २०७८ देखि २५ वैशाख २०७९ सम्म ७ वटा चेकमार्फत २० लाख १५ हजार रुपैयाँ आफ्नै नाममा विभिन्न मितिमा निकालेको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । समितिले उक्त कुरा थाहा पाएपछि मडैले २ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए ।
उनले बैँकका डडेल्धुरा, धनगढी, अत्तरिया, चौमाला र महेन्द्रनगर शाखाबाट निकालेका थिए । आयोगको अनुसन्धानमा समितिले गरेको निर्णय र राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखामा दर्ता भएको निर्णयपत्र फरक–फरक पाइएपछि मडैले किर्ते निर्णय बनाई रकम निकालेको पुष्टि भएको हो ।

फरेन्सिक परीक्षण, स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदनका आधारमा मडैको किर्ते सहिछाप र नक्कली कागजात तयार गरी रकम हिनामिना गरेको तथ्य पुष्टि भएको आयोगले जनाएको छ । आयोगले मडैको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर गर्दै बिगो रकम १८ लाख १५ हजार कायम गरेको छ । सोही ऐनको दफा ३ (१) को देहाय (च) तथा (घ) अनुसार कैद र जरिवानाको सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.