कैलालीमा लागूऔषधसहित ८ जना पक्राउ

अत्तरिया : कैलालीमा लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ । शनिबार धनगढीदेखि भजनीसम्मका विभिन्न ठाउँमा प्रहरीले संयुक्त रुपमा गरेको चेकजाँचका क्रममा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१३ झलारीबाट एक ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । शंकाका आधारमा चेकजाँच गर्दा २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको हो । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलाली गाउँको संयुक्त टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा शनिबार साँझ ५ बजेतिर लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट ४२० मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा २४ वर्षीय दिनेश बुढा र २४ कै ललित रानाक्षेत्री रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

लम्कीचुहा नगरपालिका–१ बाट थप एक जना पक्राउ परेका छन् । एक सय ३० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–३, लायकपुर बस्ने २४ वर्षीय जगदिश सांउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–९ पचमोडियाबाट समेत दुई जना पक्राउ परेका छन् । शनिबार राति साढे ९ बजे गोप्य सूचनाका आधारमा ५४० मिलिग्राम खैरो हेरोइनसहित घोडाघोडी नगरपालिका–१२, बनबासाका २५ वर्षीय डेविड कठरिया र सोही ठाउँका ३१ वर्षीय नरेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.