धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती लोकमार्गलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा निरन्तर अघि बढाइरहेको बताएका छन ।
बिहीवार बझाङका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेती लोकमार्ग निर्माणका लागि आफ्नो निरन्तर पहल जारी रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री शाहका अनुसार, “नेपाल सरकारका वैदेशिक भ्रमणहरूमा पनि सुदूरपश्चिमको एकमात्र एजेन्डाका रूपमा सेती लोकमार्गलाई उठाउँदै आएको छु । निर्माण प्रक्रियालाई अघि बढाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत निरन्तर समन्वय भइरहेको छ,” भन्दै सेती लोकमार्ग प्रदेशको विकास र समृद्धिको मेरुदण्ड हुने बताए ।
कैलाली, डोटी, अछाम, बझाङ हुँदै बाजुरालाई जोडेर ताक्लाकोट सीमा नाकासम्म पुग्ने यो उत्तर–दक्षिण लोकमार्ग रणनीतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, नेपाल सरकारको प्राथमिकता परियोजना भएकाले द्रुतगतिमा निर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
एक अर्काे प्रसङ्गमा मुख्यमन्त्री शाहले भदौ २३ गतेको आन्दोलन सुशासन कायम गर्ने तथा भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ भएको स्मरण गर्दै सबै जिम्मेवार तह–स्तर सच्चिनुपर्ने आवश्यकता औँल्याए ।
२०४७ र २०६२÷०६३ का आन्दोलनपछिका राजनीतिक परिवर्तनले देशले धेरै विकास निर्माणका काम अघि बढाएको पनि मुख्यमन्त्रीले उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री नरेश शाही, प्रदेश सभा सदस्य पदमबहादुर शाहीलगायतको सहभागिता रहेको थियो ।
त्यसपछि मुख्यमन्त्री शाहले नेपाली कांग्रेस बझाङको निर्माणाधीन पार्टी कार्यालय भवन, बाल मन्दिर आधारभूत विद्यालय तथा उर्केन सांगे छ्योलिङ गुम्बाको निरीक्षण गरे ।
बिहीवार नै उनले बझाङ जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित तीनै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन ।
कैलालीको टीकापुरदेखि बझाङको उरै भञ्जयाङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाकासम्म सडक जोड्ने लक्ष्यसहित सेती लोकमार्ग आयोजना सञ्चालनमा छ । कूल ३५९ किलोमिटर लामो सेती लोकमार्गको दूरी हो ।
त्यसमध्ये हालसम्म १८७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । राज्यकै प्राथमिकतामा राखिएको र २०६६ पछि कुनै वर्ष पनि नीति कार्यक्रम र बजेटबाहिर नराखिएको सडक हो, सेती लोकमार्ग । सेती लोकमार्ग बन्न सके बाजुरा बासीका लागि हालको भन्दा करिब १ सय २० किलोमिटर सडक छोटो देखिन्छ ।
नीति तथा कार्यक्रममा अटाए पनि, नेताहरूको नियत र पवित्र मनसायमा भने कहिल्यै अटाउन सकेको छैन । । १० वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो । तर, १५ वर्षसम्म अधुरै, त्यो पनि ट्रयाक समेत नखुलेपछि स्थानीय आक्रोशित छन् ।
सेती लोकमार्ग त्रिदेशीय सडकले मात्रै बिशेष छैन । डोटी, अछाम, बाजुरा र बझाङका स्थानीयको दैनिकजीवनसँग पनि खास अर्थ राख्ने सडक हो ।
सम्बन्धित पाेस्टहरु