अत्तरिया, ५ मंसिर : कञ्चनपुर कृष्णपुर नगरपालिकाले वडा नम्बर ५ का मानसिक समस्या भएका दुई दाजुभाइको निःशुल्क उपचार गरिरहेको छ ।
आश्रयविहीन बनेका ती दाजुभाइमा गम्भीर मानसिक समस्या देखिएपछि नगरपालिकाले आफ्नै पहलमा धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गराएको हो । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले दुबै दाजुभाइको उपचारको व्यवस्था मिलाएका हुन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि तत्काल उद्धार गरेर अस्पतालसम्म पुर्याएको नगर प्रमुख ओझाले जानकारी दिए ।
‘हामीले दाजुभाइलाई नगरपालिकाको गाडीमै राखेर निसर्ग अस्पताल ल्याएर भर्ना गराएका छौँ । उपचार खर्चमा छुटका विषयमा अस्पतालसँग छलफल भइसकेको छ, बाँकी रकम नगरपालिकाले नै व्यहोर्छ, नगर प्रमुख ओझाले भने ।
उनका अनुसार पछिल्लो समय नगर क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढ्दै गएको छ र यस्तो अवस्थाले समुदायमै समस्या सिर्जना गर्ने भएकाले नगरपालिका स्वयं अग्रसर भएर उपचार व्यवस्थापन गर्दै आएको छ ।
ती मध्ये दाइको अवस्था केही स्थिर भएको हुँदा नियमित औषधि उपचारका लागि उनलाई मानवसेवा आश्रममा राख्ने तयारी गरेको ओझाले बताए । तर भाइको अवस्था गम्भीर रहेकाले उनलाई काठमाडौं वा अन्यत्र उपचार गर्न लैजानुपर्ने अवस्था रहेको नगर प्रमुख ओझाले बताए ।
नगरपालिकाले विपन्न नागरिकको उपचारमा सदैव ध्यान दिएको छ । मानसिक समस्याको घटनामा वृद्धि भएकाले उपचार र परामर्शमा पनि नगरपालिकाको ध्यान गएको छ, उनले भने, नगरपालिकामै मानसिक समस्याको पहिचान गर्ने र उपचार सेवा प्रादन गर्ने योजना छ । यस्ता घटनामा नगरपालिकाले उपचारका लागि सहयोग गर्छ, नगर प्रमुख ओझाले भने ।
सम्बन्धित पाेस्टहरु