सुदूरपश्चिममा कर्जा बढे पनि उत्पादन घट्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि औद्योगिक उत्पादनमा ह्रास आएको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८१\८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार २०८२ को असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले यस प्रदेशमा औद्योगिक क्षेत्रमा गरेको कर्जा प्रवाह २६ अर्ब ७२ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म गरेको कर्जा प्रवाहभन्दा यो ४.३७ प्रतिशतले बढी रहेको प्रतिवेदनमा उल्लेख छ । २०८१ सालमा सो कर्जा ४.७९ प्रतिशतले घटेको थियो । बैङ्क तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जाको अंश १६.९७ प्रतिशत पुगेको जनाइएको छ ।

कैलालीमा सबैभन्दा बढी ७९.१३ प्रतिशत, कञ्चनपुरमा १५.७३, डडेलधुरामा १.५४ प्रतिशत, डोटीमा १.०३, अछाममा ०.६०, बैतडीमा ०.५९, दार्चुलामा ०.४८ र बझाङमा ०.४६ प्रतिशत औद्योगिक कर्जाको अंश रहेको छ । प्रतिवेदन अनुसार औद्योगिक कर्जामध्ये विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी ६७.५५ प्रतिशतले वृद्धि भएको छ । खानीसम्बन्धी उद्योगमा भने ३७.८३ प्रतिशतले कर्जा ह्रास आएको जनाइएको छ ।

औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि उत्पादनमा ह्रास आएको छ । प्रतिवेदन अनुसार गहुँको पिठो उत्पादनमा ६५.०९ प्रतिशत, चिनी उत्पादनमा ६०.२२ प्रतिशत, इँटा उत्पादनमा ४२.२५ प्रतिशतले ह्रास आएको छ । त्यस्तै साबुन उत्पादनमा २३.८२ प्रतिशत, चामल उत्पादनमा १५.२५ प्रतिशत, रोजिन उत्पादनमा ८.८६ प्रतिशत, कङ्क्रिट उत्पादनमा ६.८६ प्रतिशत र तोरीको तेल उत्पादनमा ४.३५ प्रतिशतले कमी आएको छ ।

आव २०८१\८२ यस प्रदेशको नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । बजारमा देखिएको आर्थिक शिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आई थप लगानी हुन नसकेका कारण औद्योगिक उत्पादन र क्षमता दुवैमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार कुल औद्योगिक कर्जामध्ये कृषि, वन र पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४२.७१ प्रतिशत, गैरखाद्यवस्तुसम्बन्धी उद्योगमा २६.०५ प्रतिशत कर्जा प्रवाह गरिएको छ । यस्तै निर्माणसम्बन्धी उद्योगमा २०.२१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८.९२ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा १.६३ प्रतिशत, खानीसम्बन्धी उद्योगमा ०.४८ प्रतिशत कर्जा प्रवाह गरिएको छ ।

औद्योगिक क्षेत्रका लागि व्यवसायीले कर्जा बढाए पनि असुरक्षाका कारण उत्पादनमा वृद्धि गर्न नसकिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका सचिव प्रकाश चन्दको भनाइ छ । मुलुकको राजनीतिक अस्थिरताका कारण विभिन्न समूहले आएर तोडफोड गर्ने, चन्दा माग्ने जस्ता घटनाले उद्योगी व्यवसायी त्रसित रहेको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.