दुर्गा लक्ष्मी माविका विद्यार्थीद्वारा अत्तरिया बजार सरसफाई

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियाको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूले बजार सरसफाई गरेका छन् ।
शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको अगुवाइमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरू विद्यालय स्थान, अत्तरिया बसपार्क हुँदै अत्तरिया बजार सम्म सरसफाई गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विर सिंह महताले कक्षा ११ र १२ का करिब २ सय विद्यार्थीहरु सहभागी भएको सरसफाइ अभियान विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको अगुवाइमा गरिएको बताए ।

कार्यक्रममा विद्यार्थीहरूका साथै विद्यालयका शिक्षक, ईलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी, र नगर प्रहरीको टोली समेत रहेको साथै सरसफाइका लागि आवश्यक सामग्रीहरू गोदावरी नगरपालिकाले उपलब्ध गराएको प्रधानाध्यापक महताले जानकारी दिए । उनले विद्यार्थीहरूको पहलमा ‘हाम्रो क्षेत्र, हामी नै सफा राख्छौं’ भन्ने उद्देश्यका साथ सरसफाइ अभियान अघि बढाइएको बताए । “विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न तथा समुदायलाई सफा–सुन्दर बनाउन यो अभियान महत्वपूर्ण भएको छ,” उनले भने ।

विद्यालयका विद्यार्थीहरूले नियमित सरसफाइ सञ्चालन गर्दै जनचेतनामूलक कार्यक्रमहरूमार्फत सफाइको सन्देश निरन्तर रूपमा फैलाउँदै जाने विश्वास व्यक्त गरे । कक्षा १२ कानुन संकायकी विद्यार्थी सन्ध्या बिकले बजार सरसफाईमा व्यापारीहरू नै प्रमुख जिम्मेवार हुने बताउँदै सबैलाई सचेत बन्न आग्रह गरेकी छन् । “प्रत्येक पसलमा डस्टबिन अनिवार्य व्यवस्था गरिनुपर्छ । फोहोर जथाभावी फाल्ने प्रवृत्ति अब रोक्नैपर्छ । स्थानीय व्यापारी र सेवाग्राही दुवैले जिम्मेवारीका साथ बजार सफा राख्नुपर्छ” उनले भनिन् ।
उनले अत्तरिया बजार र बसपार्क क्षेत्रमा फोहोर व्यवस्थापन कमजोर भएको गुनासो बाहिरबाट आउने धेरैले गर्ने गरेका छन् । बजारको अस्तव्यस्तता र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण अत्तरिया बदनाम हुँदै गएकाले विद्यार्थीको सरसफाई अभियानले सकारात्मक सन्देश दिन सक्ने विश्वास रहेको बताईन् ।

उनले हामी विद्यार्थीहरूले एकजुट भएर सरसफाई गरेका बताईन । तर यो अभियान सफल बनाउन सम्बन्धित निकाय, व्यापारी तथा सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेको उनको भनाई छ । बजारका प्रत्येक व्यवसायीले आफ्नो पसल, ठेला तथा आसपासको क्षेत्र सफा राख्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै फोहोर निश्चित स्थानमै व्यवस्थापन गर्न आग्रह गरिन् । त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिदत्त भट्टराईले विद्यार्थीहरूले गरेको सरसफाई अभियानले समाजमा सकारात्मक सन्देश पुगेको बताए । युवा पुस्ता जिम्मेवार र सक्रिय बनेमा शहर स्वच्छ र सुन्दर बन्छ । विद्यालयका यस्ता पहलले समुदायमा चेतना फैलिन्छ र सबै मिलेर अत्तरियालाई आदर्श क्षेत्र बनाउने लक्ष्य पूरा गर्न सहयोग पुग्ने समेत बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.