अत्तरिया : नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा डोटीमा अध्यक्ष केपी शर्मा ओली समूह र नेता ईश्वर पोखरेल समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
जिल्ला नेतृत्वलाई पूर्ण अधिकार दिएको यस प्रक्रियामा दुवै पक्षले छुट्टाछुट्टै प्यानल बनाएर सक्रिय रूपमा अभियान सञ्चालन गरेका थिए ।
ओली पक्षबाट जिल्ला अध्यक्ष मञ्जु मलासीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष खगेन्द्र बडेला, उप–सचिव डम्बरसिंह डौडी, उप–सचिव विष्णा सिंह, पूर्व उपाध्यक्ष लक्ष्मण मलासी, बमबहादुर बम लगायतका नेता सक्रिय रहेको बताइन्छ ।
उनीहरूले डोटीमा ओली प्यानलको स्पष्ट बहुमत भएको दाबी गर्दै आएका छन् । त्यस्तै, पोखरेल समूहबाट जिल्ला इन्चार्ज गौरी ओली, जिल्ला सचिव पदमराज भट्ट, प्रदेश सचिवालय सदस्य दीर्घराज बोगटी, पूर्व जिल्ला उपाध्यक्ष शेरबहादुर मल्ल लगायतका नेताहरू सक्रिय छन्।
उनीहरूले आफूहरू ईश्वर पोखरेल नेतृत्वको प्यानल भएको दाबी गर्दै समर्थन जुटाइरहेका छन्। प्रतिनिधि छनोटको सम्पूर्ण जिम्मेवारी जिल्ला पदाधिकारीहरूलाई दिइएको थियो।
प्रारम्भिक सहमतिमा अधिकांश पदाधिकारीहरू निर्विरोध सर्वसम्मत चयन भएको भनिए पनि सचिव पदम भट्टले ‘जबरजस्ती हस्ताक्षर गराएको’ आरोप लगाएपछि विवाद चर्किएको छ। त्यसपछि दुवै पक्षबीच शक्ति प्रदर्शन, गठजोड र समर्थन संकलन झनै तिब्र बनेको देखिन्छ।
डोटीमा तीव्र रूपमा चलिरहेको यी गतिविधिले स्थानीय कार्यकर्तादेखि जिल्ला तहसम्म महाधिवेशन प्रतिनिधि छनोटको नतिजाप्रति उत्सुकता, प्रतिस्पर्धा र तनाब बढाएको देखिन्छ ।