अत्तरिया : सुदूरपश्चिममा ८८ वटा स्थानीय तह रहेको छ । प्रदेशकै सबैभन्दा बढी एचआईभी संक्रमित रहेको स्थानीय सरकार कैलालीको गोदावरी नगरपालिकामा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गोदावरीमा दुई सय ९१ एचआइभी संक्रमित रहेका छन भने दोस्रोमा धनगढी उपमहानगरपालिका रहेको छ । निर्देशनालयका अनुसार धनगढीमा दुई सय ४४ जना एचआइभी संक्रमित रहेका छन । छ स्थानीय तहमा एचआइभी संक्रमित शून्य रहेको छ ।
प्रदेशमा एक सय देखि दुई सयसम्म एचआइभी संक्रमित रहेको स्थानीय तह आठ, ५१ देखि एक सय संक्रमित रहेको स्थानीय तहको संख्या १२ वटा रहेको छ भने २१ देखि ५१ एचआइभी संक्रमित रहेको स्थानीय तहको संख्या १६ रहेको छ ।
सुदूरपश्चिममा एचआइभी नयाँ एचआईभी संक्रमित दर घटबढ भइरहेको तथ्यांमा देखिन्छ । विगत पाँच वर्षको तथ्यांक हेर्दा संक्रमितको संख्या घटने र बढने क्रममा रहेको देखिएको हो ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार पाँच वर्षको तथ्यांकमा एचआइभी संक्रमितको संख्या प्रत्येक आर्थिक वर्ष अनुसार घटबढ भएको देखिन्छ । आर्थिक वर्ष २०७७\७८ मा दुई सय १५ संक्रमित रहेकोमा आर्थिक वर्ष २०७८\७९ मा बृद्धि भएको देखिन्छ । सो आर्थिक वर्षमा तीन सय २५ जना पुगेको थियो । आर्थिक वर्ष ०७९\८० मा कमि आएर संक्रमितको संख्या दुई सय ५२ पुगेको थियो । आर्थिक वर्ष ०८०\८१ मा भने दुई सय १८ रहेकोमा आर्थिक वर्ष २०८१\८२ मा संक्रमितको संख्या एक सय ८१ पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हाल सुदूरपश्चिममा तीन हजार सात सय ३० जना उपचारमा रहेकोमा भाइरल लोड कम भएको संख्या तीन हजार ४९ रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा पाँच हजार २३ संक्रमित पहिचान हुने अनुमान गरेकोमा चार हजार ४९ जनामात्र पत्ता लागेको थियो ।
सुदूरपश्चिममा ७३ हजार एक सय २० जनाको एचआइभी जाँच गरिएकोमा शून्य दशमलब दुई अर्थात (एक सय ८१ जनामा पत्ता) लागेको थियो ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१\८२ मा सबैभन्दा बढी संक्रमित संख्या कैलालीमा र सबैभन्दा कम दार्चुलामा रहेको छ । कैलालीमा सो आर्थिक वर्षमा ७७ जना नयाँ संक्रमित थप भई एचआईभी संक्रमितको सख्या एक हजार सात सय ४० पुगेको छ भने दार्चुलामा छ जना नयाँ संक्रमित थप भई ५० जना उपचाररत थिए ।
कैलालीपछि सबैभन्दा बढी एचआईभी संक्रमित अछाममा रहेको छ । गत वर्ष अछाममा छ जना नयाँ संक्रमित थप भई पाँच सय ७० जना उपचाररत रहेका थिए । तराईको दोस्रो जिल्ला कञ्चनपुरमा ३३ जना नयाँ संक्रमित पहिचान भएसंगै चार सय ५५ जना उपचाररत रहेको निर्देशनालयको तथ्यांकमा रहेको छ ।
डोटीमा आठ जना नयाँ संक्रमित पहिचान भएसंगै चार सय ९०, बाजुरामा तीन जना नयाँ संक्रमित फेला परेसंगै ७२, बझाङमा नौ जना नयाँ संक्रमितसंगै ९६, बैतडीमा नौ जना नयाँ संक्रमित पहिचान भएसंगै एक सय ३२ र डडेल्धुरामा १३ जना नयाँ फेला परेसंगै एक सय २५ जना उपचाररत थिए ।
मर्ने दरमा पनि सुधार भएन
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्नेः शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु, शुून्य एचआईभी सम्बन्धित भेदभावलाई राष्ट्रिय एचआईभी कार्यक्रमका भविष्यका प्राथमिकतामा राखेको छ । तर, अहिलेसम्म एचआइभीकै कारण वर्षेनी प्रदेशमा मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
गत पाँच वर्षको तथ्यांक हेर्दा एचआइभीका कारण मृत्यु हुनेको दरमा कमी आउँदै गरेपनि अझै पनि शून्यमा पुगाउन सकस देखिन्छ । आर्थिक वर्ष २०७७\७८ मा ८२ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७८\७९ मा कमी आएको थियो । ०७८\७९ मा ७९ जना एचआइभी संक्रमितको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९\८० मा ६४ जनाको मृत्यु भएको थियो । तर, आर्थिक वर्ष २०८०\८१ मा यो संख्यामा कमी आएन । ०८०\८१ मा पनि ६४ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ८१\८२ मा एचआइभीकै कारण ६३ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्यकर्मीहरुले मृत्यु हुनुको कारण एचआइभीमात्र नभई बहुआयामिक रोगका कारण मृत्यु हुने गरेको जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले भने –‘एचआइभी संक्रमितहरुमा निमोनियाँ, डाइवेटिज, दम लगायत अन्य नसर्ने रोगहरुको संक्रमणले मृत्यु हुने गरेका छन ।’ उनले समयमै संक्रमित उपचारको दायरामा आउने र नियमित औषधि सेवन गरेमा मृत्युको जोखिमबाट बचाउन सकिने बताए । उनले भने –‘कुनै समय प्राणघात रोगका रुपमा हेरिने गरेको थियो । यसको औषधि निर्माण भएपछि अहिले विरामीहरुको व्यवस्थापन गर्न सकिएको छ ।’
एचआइभी संक्रमित व्यक्तिहरु नियमित उपचारको दायरामा नआउने, उपचारकै क्रममा भारत प्रस्थान, प्रवाशीहरुमा नियमित जांच तथा परामर्श, संक्रमितहरुको उमेरका कारणले आउने जिराएट्रिक समस्याहरु, केहि संक्रमितहरुलाई पोषण तथा यातायात सम्बन्धि सम्बन्धि समस्या, एकल महिला तथा बालबालिकाहरुको शैक्षिक सुधार सम्बंधि लगायत प्रमुख चुनौति रहेको स्वास्थ्यकर्मीहरु बताउँछन ।