कांग्रेस महाधिवेशन पुस २७, २८ र २९ गते गर्ने निर्णय

काठमाण्डौँ, १५ मंसिर : लामो रस्साकस्सीपछि अन्ततः सहमति जुटाउँदै नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै यो गाँठो फुकेको हो ।

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ ।

पारित भएको कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताए । उनका अनुसार एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ ।

कांग्रेसको प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिए । २३ र २४ भदौको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसभित्र २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग जोडसँग उठेको थियो ।

पार्टीको संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि संस्थापनइतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो । १४ औं महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो ।

त्यसपछि पार्टी विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको थियो । संस्थापनपक्षमा रहेका पूर्वपदाधिकारीहरूले फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नै नरहेको भन्दै आगामी वैशाखमा गर्नुपर्ने विकल्पसहित तत्काल नियमित र विशेष दुवै प्रस्ताव खारेज गरिरहेका थिए ।

कांग्रेस विधानमा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु पर्ने व्यवस्था छ । त्यसकारण आगामी पुसको २८ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेसमा थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.