अत्तरिया : गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव बिथोलिने अवस्था नरहेको दाबी गरेका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटनमा बोल्दै उनले बाहिर रहेका लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता ल्याएर छोड्ने प्रतिबद्धता जनाए ।
‘लुटिएका हतियार धेरै ठुलो संख्यामा फिर्ता गरिसकेका छौँ । केही अझै बाहिर छन् । त्यो पनि जफत गर्ने कुरा तीव्र रूपमा अघि बढिरहेको छ । जे–जति हतियार र कैदीबन्दी बाहिर छन् फिर्ता ल्याउन विशेष रूपमा अप्रेसन चलाउँछौँ र चलाइरहेका पिन छौँ,’ उनले भने, ‘फरार कैदीबन्दी र बाहिर रहेका हतियारका कारण निर्वाचन नै बिथोलिने तहको अवस्था अहिले छैन ।’
लुटिएकामध्ये ७२७ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिँदै उनले बाहिर रहेकामध्ये पनि जोखिमयुक्त हतियार कम रहेको बताए । त्यस्तै, चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको र तीमध्ये गम्भीर प्रकृतिका कर्तव्य ज्यान, ज्यान मार्ने, अंगभंग कसुरका कैदीबन्दीको संख्या कम रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनले विधिको शासन, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन कायम गर्दै तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताए । यही उद्देश्यका साथ सरकारले काम गरिरहेको उनले बताए । ‘यो सरकार सबैको साझा भएको हुँदा सबैका भावनालाई समेट्दै चुनावमा होमिइसकेको अवस्था छ,’ अर्यालले भने, ‘चुनावको तयारीका सन्दर्भमा केही चुनौती बाहिर आएका छन् । ती चुनौती कतिपय मनोवैज्ञानिक पनि छन् ।’ सरकार हिंसा र अराजकता रोक्न प्रतिबद्ध छ र त्यहीअनुसार संयन्त्र परिचालन गरिएकाले मनोवैज्ञानिक चुनौतीबाट मुक्त हुन उनले आग्रह गरे । लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको उनको भनाइ थियो ।
सरकारले शान्तिसुरक्षा, अपराध नियन्त्रणमा, सुशासनमा निष्ठापूर्वक काम गरिरहेको दाबी गरे । सरकारले कसैलाई काखा र पाखा नगरी सबैका कुरा सुन्ने उनले बताए । ‘सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ । कसैलाई काखा र कसैलाई पाखा नगरीकन सबैका कुरा सुन्छौँ,’ गृहमन्त्री अर्यालले भने । राजनीतिक दलका गतिविधिमा हस्तक्षप हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘हाम्रो म्यान्डेट नै चुनाव गराउने हो । चुनाव गराउन शान्तिसुरक्षा दिनुपर्छ । सुशासन पनि दिनुपर्छ,’ उनले भने, ‘अहिंसात्समक र शान्तिपूर्ण राजनीतिक गतिविधिलाई सरकारले सहजीकरण गर्छ र दण्डहीनता आउन दिँदैन ।’ सरुवा, बढुवालगायत अन्य विषयमा सुरक्षाकर्मीमाथि राजनीतिक र अन्य आग्रहबाट हस्तक्षेप नगरिएको र नगरिने उनको भनाइ थियो ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चुनावको वातावरण तयार गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचनको वातावरण तयार पार्न प्रदेश सरकार पूर्ण रूपले प्रतिबद्ध छ,’ मुख्यमन्त्री शाहले भने, ‘चुनाव सम्पन्न गर्न हामी संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ ।’