धनगढी : सुदूरपश्चिम प्रदेश निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहका निजामती कर्मचारीको मर्यादाक्रम सम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश तथा स्थाननीय तहका कर्मचारीका तर्फबाट यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भूवन जोशीले नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले २०७६ वैशाख १६ गते प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको मर्म विपरीत रहेको उल्लेख गरिएको छ । संविधानले परिकल्पना गरेको सहकार्य, सहअस्तित्व र समन्वयको भावना अनुरूप समान तह\श्रेणीका कर्मचारीहरूको मर्यादाक्रम तीनवटै तहमा एउटै रहनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
२०७८ माघ १२ गतेको सर्बोच्च अदालतको पूर्ण इजलासले समेत समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्नुपर्ने स्पष्ट निर्देशन दिएकोमा
संघका अधिकारीलाई प्राथमिकता दिंदै आदेशको कार्यान्वयन नगरेको पत्रमा उल्लेख गरिएको छ । मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्रीको उपस्थितिमा धनगढीमा गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाईएको हो ।