अत्तरिया : सुदूरपश्चिम रोयल्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा चितवन राइनोजलाई ४९ रनले हराएको छ। छैटौं जितसँगै सुदूरपश्चिमले प्लेअफको क्वालिफायर्स वान खेल्ने पक्का गरेको छ। यो खेलसँगै मैदान बाहिर रहेको विराटनगरले पनि प्लेअफमा स्थान बनायो।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६९ रन बनायो। प्रत्युत्तरमा चितवन १७.१ ओभरमा अल आउट हुँदा मात्र १२० रन बनाएको हो। पहिलो इनिङ्समा अस्ट्रेलियन ब्याटर क्रिस लिनले अर्धसतक बनाएका थिए।
सुदूरपश्चिम प्रतियोगितामा आफ्नो अपराजित यात्रा छैटौं खेलसम्म कायम राख्न सफल भयो। टोली ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ। सुदूरले पहिलो खेलमा काठमाडौंलाई २९ रन, दोस्रो खेलमा पोखरालाई १८ रन, तेस्रो खेलमा कर्णालीलाई ४५ रन, चोथो खेलमा लुम्बिनीलाई ७ विकेट तथा पाँचौं खेलमा जनकपुरलाई ६ विकेटले हराएको थियो।
चितवन भने चौथो हारपछि पनि प्लेअफ सम्भावना कायम राख्न सफल भयो। अब, उसले लुम्बिनीको खेल कुर्नेछ। यदि यो खेलमा लुम्बिनी पराजित भए चितवनलाई पोखराविरुद्ध जित्नै पर्ने दबाब हुन्छ। पहिलो खेलमा कर्णालीलाई ४ विकेटले हराएको चितवनले तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको थियो। टोली दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेट तथा चौथो खेलमा काठमाडौंसँग ५३ र पाँचौं खेलमा जनकपुरसँग ६ विकेटले पराजित भएको थियो।
आज नै भएको पहिलो खेलमा पोखरालाई हराउँदै काठमाडौ पहिलो पटक प्लेअफलाई छनोट भइसकेको छ। अब, पहिलो क्वालिफायर्समा सुदूरपश्चिमले काठमाडौं र विराटनगर मध्ये एक टिमसँग खेल्नेछ। त्यस्तै, इलिमिनेटर एक स्थानको लागि कर्णालीबाहेक लुम्बिनी, पोखरा र जनकपुरको सम्भावना कायम छ।
चितवनको लागि रवि बोपराले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा एक चौका र दुई छक्का हिर्काएका हुन्। देव खनालले १९ बलमा २८ रन बनाए। कप्तान कुशल मल्ले १५ तथा ओपनर अर्जुन साउदले १६ रनको योगदान गरेका हुन्। ओपनर डेविड मालम र तेस्रो क्रमा सैफ जैवले मात्र ६ रन बनाए। बाँकी खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन नसकेपछि चितवन सहज पराजित भएको हो।
सुदूरपश्चिमको लागि पुनित मेहराले तीन तथा कप्तान दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले समान एक विकेट लिएका थिए।
लिगको २४औं खेलमा सुदूरपश्चिमको लागि ३५ वर्षीय अस्ट्रेलियन ओपनिङ ब्याटर लिनले सर्वाधिक ७५ रन बनाए। ५६ बलमा पाँच चौका र ३ छक्का हिर्काएपछि उनी रिटायर्ड हर्ट भए। उनले एनपिएलमा पहिलो अर्धसतक बनाउने क्रममा ४२ बलमा तीन चौका र २ छक्का हिर्काएका हुन्।
अर्का ओपनर विनोद भण्डारीले १७ ओभरमा २१ रन बनाए। २ चौका र १ छक्का हिर्काएका विनोदलाई रञ्जित कुमारले अमर रौटेलाबाट क्याच आउट गराएका थिए। पहिलो विकेटको लागि विनोद र लिनबीच ३५ बलमा ४५ रनको साझेदारी भएको थियो। पाँचौं विकेटको लागि आरिफ शेख र लिनबीच पनि २५ बलमा समान ४५ रनकै साझेदारी भएको थियो। आरिफ र कप्तान तथा मार्की दीपेन्द्र सिंह ऐरीले समान २४ रन बनाएका थिए।
चौथो नम्बर क्रिजमा आएर १३ रन बनाएका पुनित मिश्राको विकेट सैफ जैवले लिए। ३७ वर्षीय भारतीय बायाँ हाते ब्याटर पुनितले डेब्यु खेल स्मरणीय बनाउन सकेनन्। यसअघि ४ बलमा एक रन जोडेका इशान पाण्डेलाई पनि जैवले डेविड मालमबाट क्याच गराएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका अलरान्डर हर्मित सिंह पनि मात्र एक रन बनाउँदा आउट भएका थिए।
चितवनको लागि जैवले दुई तथा रञ्जित कुमार र पहिलो खेल खेलिरहेका जर्ज स्क्रिमशवले समान एक विकेट लिएका थिए। उनले सोहेल तनवीरको स्थान लिएका हुन्। चार ओभर नै बलिङ गरेका कुशल मल्ल र रिजन ढकाल विकेट विहिन भए। प्रतियोगितामा शुक्रबार एकमात्रै खेल हुनेछ। साँझ ६ बजे हुने खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।