बर्दिया राजापुरका निरजको दिनदहाडै गोली हानी हत्या गर्ने अभियुक्त कैलालीबाट पक्राउ, पेस्तोल पनि बरामद
धनगढी । बर्दियाको राजापुरमा दिनदहाडै गोली प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीय निरज चौधरीको हत्या घटनाका मुख्य अभियुक्त कैलालीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका-५ को बैजपुरबाट तुलसीपुर-५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । इप्रका राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार चौधरीको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । चौधरी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ समेत हुन् । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भएरनभएको भने पुष्टि हुन बाँकी रहेको डीएसपी बोहराले बताए । प्रहरीका अनुसार राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा मृतक निरज चौधरीमाथि गोली प्रहार भएको थियो ।
घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पुगाएपछि प्रहरीलाई घटनाबारे थाहा भएको थियोे । उनको उपचारका क्रममा मृत्यु भएको थियो । चौधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए ।
यो घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान् श्रीमती र छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ। कैलालीबाट पक्राउ परेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।