सुदूरपश्चिममा आज भुवा पर्वका अवसरमा सार्वजनिक बिदा

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आज पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ । विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन् । यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।

पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ । पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ । विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढाल नचाउँदै खुसियाली मनाइएको र त्यसैको सम्झनामा भुवो खेल खेल्ने चलन भएको बताइएको छ । यसैबिच बाजुरेली सेवा समाजले धनगढीमा भुवो पर्व महोत्सव आयोजना गर्ने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.