कैलाली र कञ्चनपुरमा ४ बर्षमा मुक्तकमैया महिला विकास मञ्चले गरेका कामका बारेमा छलफल

अत्तरिया : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले मुक्त कमैया, कमलहरी, हलियाको आर्थिक उन्नतिमा जोड दिने बताएका छन् ।

मंगलबार मुक्त कमैया महिला विकास मञ्चले धनगढीमा आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुको सामाजिक, आर्थिक अधिकार प्रवद्र्धनको साझेदारी परियोजनाको समापन समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘मुक्ति घोषणाको लामो समय हुँदा पनि मुक्त कमैया, कमलहरी, हलियाका मुद्धाको समाधान हुन सकेको छैन् । उहाँहरुका समस्या समाधान गर्न प्रदेश सरकार तयार छ ।’

उनले भने ‘संघ सरकारबाट अब पुनःस्थापनाका काम हुनेमा म विश्वस्त छैन् । जिम्मेवारी पूरा नगरेर संघ सरकारले छोडेको छ । अब प्रदेश र स्थानीय सरकारले मिलेर यी समस्या समाधान गर्नुपर्छ ।’ त्यस्तै उनले प्रदेश सरकारले अहिले मुक्त कमैया, कमलहरी, हलिया पुनःस्थापनाका कामहरु ग्रिरहेको बताए । उनले भने ‘हामीले पुनःस्थापनाका काम गरिरहेका छौँ । यस वर्ष पनि सय वटा घर निर्माणका लागि बजेट विनियोजन गरेका छौँ ।’

स्थानीय तहले पुनःस्थापना नभएका मुक्त कमैया, कम्लहरी, हलियाको एकीन तथ्यांक बनाउनुपर्नेमा उनले जोड दिए । उनले आवास निर्माणका काम प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले संस्थाले मुक्त कमैयाहरुका लागि चार वर्षमा धेरै कामहरु गरेको बताए । उनले मुक्त कमैयाको जीवनस्तर सुधार गर्दै केही गर्नुपर्छ भन्ने भावनाको विकास गरेको बताए । संस्थाले कृषि, सहकारी तथा शिक्षा क्षेत्रमा योगदान पु¥याएको र अझै यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै शुक्लाफाँटाका स्थानीय भागिराम चौधरीले परियोजनाले महिला सशक्तिकरण राम्रो काम गरेको बताए । उनले मुक्त कमैया महिलाहरुको आर्थिक उन्नतिमा परियोजनाले टेवा पु¥याएको बताए ।
कार्यक्रममा मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक ईन्द्र चौधरीले संस्था र परियोजनाले गरेका कामको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

उनले परियोजनाले कैलालीको गोदावरी, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा काम गरेको बताए । उनले सन् २०२२ देखि सन् २०२५ सम्मको चार वार्षको अवधिमा परियोजनाबाट मुक्त कमैयाका १ हजार एक सय ६५ परिवार लाभान्वित भएको बताए । चार वर्षको अवधिमा बैठक रिफलेक्ट कक्षा, परिवार संवाद,वित्तीय सारक्षरता कक्षालागयतका कार्यक्रम सञ्चालन गरिएको बताउँदै वकालतका काम, संघ प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने लगायतका काम गरिएको बताए ।

१ सय ४५ जनालाई बंगुरपालनको खोर वितरण, ५६ जना मुक्त कमैयालाई १.५ महिने पिओपी तालिम, ४६ जनालाई टेलरिङ तालिम, ५८ जनालाई विभिन्न तालिम, ४० जनालाई लोकल कुखुरा पाल्ने खोर वितरण, ४१३ जनालाई फलफूल वितरण, १०० सय जनालाई तरकारीखेतीका लागि पोलिहाउस वितरणलगायतका काम गरिएको उनले बताए ।

त्यस्तै कैलारीका आगलागी पीडितलाई ३४ हजार पाँच सय राहत वितरण, ६ वटा दान बनाउने कुटानी पिसानी मिल वितरण, २४ जना तरकारी व्यवसायीलाई साइकल वितरण, १९ जनालाई दुनाटपरी बनाउने मेसन वितरण गरिएको उनले बताए ।
मुक्तकमैया महिला विकास मञ्चका अध्यक्ष सीमा चौधरीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण मुक्तकमैया महिला विकास मञ्चका पदमराज जोशीले गरेका थिए ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, गौरीगंगा नगरापालिका नगरप्रमुख देवीदत्त कँडेल, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.