अत्तरिया : अत्तरियामा सञ्चालन भइरहेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा दिन प्रतिदिन दर्शकको घुइँचो बढ्दै गएको छ । सृजनशील क्लबका युवाहरुको जोश–जाँगरले गर्दा दुई वर्षपछि गोदावरी नगरपालिका अत्तरियामा पुनः सांस्कृतिक महोत्सव भएको हो ।
महोत्सव टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीका अनुसार महोत्सव सञ्चालनको आज ८ औँ दिन हालसम्म ४५ हजारभन्दा बढी दर्शकहरूले महोत्सवको अवलोकन गरिसकेका बताए । महो यहि पौष १९ गते सम्म सञ्चालन हुनेछ ।
महोत्सवमा स्थानीय कला, संस्कृति, परम्परा, थारु गाउँ प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत भइरहेका कारण दर्शकहरूको उल्लेखनीय आकर्षण देखिएको छ । योगीले परिवारसहित सहभागी हुने दर्शकको संख्या बढ्दै जाँदा महोत्सवको माहोल थप उल्लासमय बनेको बताएका छन् ।

यस्तै महोत्सवका संयोजक तथा क्लबका अध्यक्ष नरबहादुर राईले दर्शकको चापलाई ध्यानमा राख्दै टिकट व्यवस्थापन, सुरक्षाको व्यवस्था, पार्किङ, सरसफाइ तथा कार्यक्रम सञ्चालनलाई थप व्यवस्थित बनाइएको बताएका छन् । स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरेर सहज र सुरक्षित रूपमा महोत्सव सञ्चालन गरिँदै आएको बताए ।
संयोजक राईले गोदावरी नगरपालिका क्षेत्रको पहिचान, प्रतिष्ठान सांस्कृतिक झल्काउने जमर्क साथै अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नु, स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्नु, युवाहरूको सृजनशीलतालाई मञ्च प्रदान गर्नु तथा सामुदायिक एकता सुदृढ गर्नु महोत्सवको मुख्य उद्देश्य साथ सञ्चालन गरिएको बताए । यस्तै महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवद्र्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

संयोजक राईले महोत्सव अवधिभर दर्शक संख्या अझै बढ्ने अपेक्षा गरिएको बताउँदै आगामी दिनहरूमा थप आकर्षक सांस्कृतिक कार्यक्रम तथा चर्चित कलाकारहरूको प्रस्तुति रहने विश्वास व्यक्त गरेका छन् ।
महोत्सवले स्थानीय कला–संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको बताए ।
महोत्सवमा कृषिका स्टलः–
महोत्सव किसान र कृषि फर्महरूले उत्पादन गरेका अर्गानिक वस्तुहरू राखिएको देख्न सकिन्छ । विभिन्न कृषि स्टलहरुमा फापरको पिठो, पहाडी गुड, दाल, चामल लगायतका पहाडमा उत्पादित वस्तुहरु महोत्सवमा राखिएको छ । किसान आफैले उत्पादन गरेका विभिन्न प्रकारका अचार पहाडमा उत्पादन भएको चुक, घिउ, डडेल्धुराको किवी सम्मका सामग्री देख्न पाइन्छ ।
महोत्सवमा थारु गाउँको प्रदर्शनीः–
सांस्कृतिक महोत्सवमा थारु गाउँको प्रदर्शनीले दर्शकहरूको ध्यान केन्द्रित गरेको छ । महोत्सव स्थल भित्र स्थापना गरिएको लम्की चुहा नगरपालिका गुलाराको टीमले थारु गाउँमा थारु जातिको पहिचान झल्किने भेषभूषा, संस्कृति साथै थारु समुदायका स्वादिष्ट तथा परम्परागत भोजन परिकारहरू, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमहरूले महोत्सवको रमझमलाई अझ प्रभावकारी र आकर्षक बनाएको छ ।

थारु गाउँ प्रवेशका लागि प्रवेश शुल्कसमेत तोकिएको छ । गाउँभित्र थारु समुदायका मौलिक खाना घोंघी , ढिग्री, बहेर चटनी, परेवा, अन्डीको भात, गंगेटा, माछा लगायत लोकल परिकारहरू स्वाद लिन सकिने व्यवस्था गरिएको छ भने दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको थारु गाउँका संयोजक सोवित चौधरीले जानकारी दिए ।
स्थानीय संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले थारु गाउँको अवधारणा ल्याइएको आयोजकको भनाइ छ । महोत्सवमा थारु गाउँले विशेष आकर्षणको रूपमा स्थान बनाउँदै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । महोत्सवमा साधारण टिकट १ सय र विद्यार्थीलाई ५० रुपैयाँ शुक्ल तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।