दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार सिनेट बैठकले छनोट गर्ने

धनगढी : कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार सिनेट बैठकले छनोट गर्ने भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भोलि (मंगलबार) बस्ने सिनेट बैठकले उपकुलपति र रजिष्ट्रार छनोट गर्ने भएको हो। उपकुलपति एवं रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीले सिनेट बैठकले उपकुलपति र रजिष्ट्रार छनोट गर्ने निर्णय भएको बताए।

‘उपकुलपति र रजिष्ट्रारको नाम हामीले सिफारिस गरेर बुझाईसकेका छौँ। शिक्षा मन्त्रालयमा भोली बस्ने सिनेट बैठकले दुवै पदका लागि नियुक्त गर्ने छ,’ संयोजक अवस्थीले भने ‘त्यस विषयमा थप भन्न मिल्दैन, भोली नै निर्णय हुने छ।’

उपकुलपतिका लागि मन्त्रालयले ३ पटक आवेदन खुलाएको थियो। तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको शिक्षा मन्त्रालयले जनाएको छ।

समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो । २ पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए। सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते पहिलो पटक र कात्तिक ३० मा दोस्रो पटक दरखास्त आह्वान गरेको थियो।

तर, एक जनाको पनि दरखास्त नपरेपछि समितिले मंसिर २३ गते तेस्रो पटक सूचना जारी गर्दै २८ मंसिरसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो।

रजिस्ट्रारका लागि १० जनाको आवेदन परेको थियो। संघीय संसद् बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.