बडिमालिका र रामारोशन बन क्षेत्रलाई दीगो बनाउन छलफल

धनगढी : बडिमालिका र रामारोशन बन क्षेत्रलाई दीगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा प्रदेशस्तरीय छलफल भएको छ । उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा मंगलबार धनगढीमा आयोजित प्रस्तावित बडिमालिका–रामारोशन बन संरक्षण क्षेत्रका सन्दर्भमा आयोजित कार्यक्रमका सहभागिहरुले बन क्षेत्रको संरक्षण, पर्यटन विकास र स्थानीय जीवनयापनबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वक्ताहरूले बडिमालिका र रामारोशन क्षेत्र जैविक विविधता, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पूर्वाधारको अभाव समस्या विद्यमान रहेको उल्लेख गरेका छन । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको सभापतित्वमा भएको छलफलका कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमलबहादुर शाह रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार बडिमालिका–रामारोशन बन संरक्षण क्षेत्रको संरक्षण र विकासलाई सँगसँगै लैजान प्रतिबद्ध रहेको बताउँदै स्थानीय तह, समुदाय र निजी क्षेत्रको सहकार्यमा पर्यटन पूर्वाधार विकास गरिने बताए । उनले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका बडिमालिका र रामारोशन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सकिने उल्लेख गरे । बडिमालिका र रामारोशन क्षेत्रमा विद्यमान विविध समस्या र संरक्षणका सम्भावनाबारे गहन विचार–विमर्श गर्नु पर्नेमा मुख्यमन्त्रि शाहले जोड दिए ।

उनले पर्यटन प्रवद्र्धन, सम्बद्र्धन तथा बन क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले कानुन निर्माण गरेको तथा आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माण गर्न तयार रहेको स्पष्ट पारे ।
छलफलमा माननीय झपट साउँद, नरेशकुमार शाही, अक्कल रावल, पदमबहादुर शाही, बडिमालिका नगरपालिका बाजुराका नगर प्रमुख अमर खड्का, रामारोशन गाउँपालिका अछामका अध्यक्ष मानबहादुर साउँद, त्रिवेणी नगरपालिका उपप्रमुख कमला कुमारी जैसी, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका वरिष्ठ अधिकृत लक्ष्मिराज जोशी तथा पर्यटन व्यवसायी पदमबहादुर सिंह लगायतकाले धारणा राखे ।
यसैबीच, बडिमालिका–रामारोशन बन संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गर्न प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा वरिष्ठ भू–तथा जलाधार अधिकृत डा. किशोर अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका वरिष्ठ अधिकृत लक्ष्मिराज जोशी, पर्यटन व्यवसायी पदमबहादुर सिंह, बडिमालिका नगरपालिका बाजुराका नगर प्रमुख अमर खड्का, रामारोशन गाउँपालिका अछामका अध्यक्ष मानबहादुर साउँद तथा त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापा सदस्यका रूपमा रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.