माघीको तयारीमा व्यस्त थारू समुदाय

धनगढी : तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठुलो पर्व माघ (माघी) को तयारीमा जुटेको छ । माघ पर्व नजिकिएकाले थारू समुदायका मानिस माघको तयारी (सामाजामा) मा जुटेका हुन् ।

माघ थारू समुदायको नयाँ वर्ष पनि हो । पुस महिनाकोे अन्तिम दिनदेखि माघ २ गतेसम्म तीन दिन हर्षोल्लासपूर्वक माघ मनाउने यो समुदायमा चलन रहेको छ । धुमधामसँग पर्व मनाउनका लागि थारू समुदायका मानिस कुटानी पिसानी गर्ने, दाउरा ल्याउने, जङ्गलबाट पात टिपेर ल्याउने, पातको दुनाटपरी बनाउने कार्यमा जुटेका छन् ।

यसैगरी, प्रत्येक परिवारका लागि मासुको व्यवस्था मिलाउने कार्य पनि चलिरहेको छ । माघमा बङ्गुरको मासु किन्नका लागि पहिल्यै नाम लेखेर लिस्ट तयार पार्ने गरिन्छ । वर्ष दिनपछि फर्केर आउने माघलाई हर्षोल्लासपूर्वक मनाउन तयारीको चटारो रहेको धनगढी उपमहानगरपालिका–९, बङ्गराका दिनेश चौधरीले बताए ।

उनका अनुसार माघमा खाने परिकार बनाउन कुटानी पिसानीका कार्यहरू भइरहेका छन् । यो पर्वमा चामलको पिठोको ढिक्री र त्यससँग बङ्गुरको मासु खाने गरिन्छ । आफ्नो गाउँमा बङ्गुरको मासु भाग लगाउन बैठक बस्न भने बाँकी रहेको चौधरीले बताए ।

माघ पर्वमा यो समुदायका धेरैजसो मानिसले जाँरको झोल खाने गर्दछन् । महिनादिन अगाडिबाटै त्यसको तयारी भइरहेको जनाइएको छ । त्यस्तै, बजारमा किनमेल काम काम पनि सुरु भएका छन् । कैलारी गाउँपालिका–७ का कमलप्रसाद चौधरीले गाउँघरमा माघको सुरसार हुन थालेको बताए । उनले पर्व, विवाह लगायतका लागि जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने कार्य भइरहेको उल्लेख गरे।

माघ पर्वको पहिलो दिन मासुसहित खानपान गरेर धमार, ढुमरु गीत गाएर रमाइलो (राहरङ्गित) गर्ने, दोस्रो दिन बिहानै स्नान गरेर ठुलाबडाको आशीर्वाद लिने र तेस्रो दिन माघी डेवानी गरेर पर्व बिसर्जन गर्ने चलन रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.