अत्तरिया : नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध र शान्ति सुरक्षाको सवालमा छलफल भएको छ । बिहिबार कैलालीको गोदावरी नगरपालिका अत्तरियामा भएको सीमा जिल्ला समन्वय बैठकमा नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई समेत मध्यनजर गरेर खुला सिमानाका कारण हुन सक्ने सीमा अपराध र शान्ति सुरक्षाको बारेमा छलफल गरिएको हो ।
बैठकमा स्थानीयस्तरमा द्विपक्षीय समस्याहरु समाधानलगायत समसामयिक विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
बैठकमा कैलालीबाट प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी मदन कोइराला र भारतको लखिमपुरखिरीबाट जिलाधिकारी दुर्गा शक्ति नागपालको नेतृत्वमा सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।