अत्तरिया : फागुनमा २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका तीनवटै क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन् । तीनवटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो । रास्वपा कञ्चनपुरका अनुसार क्षेत्र नम्बर १ बाट जनकसिंह धामी, २ बाट दीपक बोहरा र ३ बाट ज्ञानेन्द्रसिंह महताको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
कञ्चनपुर– २ बाट सिफारिस गरिएका बोहरा सचिवालय सदस्य हुन् । रास्वपा सभापति रवि लामिछानेका विशेष सहयोगी रहेका उनले रवि टेलिभिजनमा हुँदा कार्यक्रम उत्पादनमा सहयोग गर्दै आएका थिए । बोहराले केही दिनदेखि सो क्षेत्रमा निर्वाचन लक्षित गतिविधि बढाएका छन् । उनी सिफारिस भएको क्षेत्रबाट अघिल्लो निर्वाचनमा कांग्रेस नेता एनपी साउद विजयी भएका थिए ।
यस्तै, कञ्चनपुर– ३ बाट सिफारिस भएका महता पत्रकारिता छाडेर रास्वपाको राजनीतिमा सक्रिय भएका हुन् । रास्वपा सुदूरपश्चिम प्रदेशका पूर्वइन्चार्जसमेत रहेका महता विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव छन् । कञ्चनपुर– १ बाट सिफारिस भएका धामी रास्वपा अभियान तथा तथा प्रचार विभागमा केन्द्रीय सदस्य छन् ।