अत्तरिया । कैलालीमा एकैदिन ७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसलाको कार्यान्वयनका क्रममा जिल्ला अदालतले विभिन्न मितिमा गरेका फैसलाबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति बिहीबार उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका भजनी नगरपालिका–६ का मनिष कुमार चौधरी रहेका छन्।
त्यस्तै, लागूऔषध खैरो हेरोइन मुद्दामा टिकापुर नगरपालिका–१ का पदम राज भण्डारीलाई २ महिना कैद, धनगढी उपमहानगरपालिका–२ का विक्रम बहादुर बोहरालाई १ महिना कैद, धनगढी उपमहानगरपालिका–३ का हरि साउँदलाई १ महिना कैद, गोदावरी नगरपालिका–१ की शिखा डाँगीलाई १ महिना कैद तथा बर्दगोरिया गाउँपालिका–१ का सन्तोष विश्वकर्मालाई १ महिना १५ दिन कैद सजाय तोकिएको छ।
सवारी ज्यान मुद्दामा टिकापुर नगरपालिका–२ बन्दीपुर बस्ने ४२ वर्षीय बिर्ख बहादुर सुनारलाई ११ महिना १० दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।