डडेल्धुरामा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा दुई जना युवाको मृत्यु

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ। दुर्घटना जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीमा जोगबुढा–दैजी सडकखण्ड अन्तर्गत शनिबार साँझ भएको हो।

जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परशुराम नगरपालिका–१२ पन्तुराका २७ वर्षीय नबिन साउद र मोटरसाइकलको पछाडि सवार परशुराम नगरपालिका–१२ जोगबुढा बस्ने ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत तत्काल उपचारका लागि जोगबुढा अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा साँझ करिब ७ः२० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

मृतक मान जाग्री ग्रिन भ्याली बोर्डिङ स्कुलमा शिक्षकको रूपमा कार्यरत रहेको जनाइएको छ। दुर्घटनापछि ट्र्याक्टर चालक डडेल्धुरा सतघाट घर भई हाल परशुराम नगरपालिका बस्दै आएका ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन्। फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब ८ किलोमिटर दक्षिणतर्फ पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.