धनगढी : धनगढीका राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्ती मनाइएको छ । आइतवार धनगढी चौराहा अर्थात पृथ्वीनारायण चोक तथा जेन्जी मार्गमा पृथ्वीनारायण शाहको तस्विरमा मल्यार्पण गरेर नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरिएको हो । धनगढी चौराहामा राखिएको पृथ्वीनारायण शाहको तस्विरमा धनगढीको लक्ष्मीनारायण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यले मल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहको तस्विरमा उपस्थित सर्वसाधारणले समेत पुष्पगुच्छा चढाएर नेपाल एकीकरणको जग बसाल्ने राजाप्रति सम्मान व्यक्त गरे ।
पृथ्वी जयन्तीकै अवसरमा पृथ्वीचोकबाट निकालिएको झाँकीले धनगढी जेन्जी मार्गमा पुगेर पृथ्वीनारायण शाहको तस्विरमा मल्यार्पण गरेको छ । झाँकीमा धनगढी–७ मा रहेको माइलस्टोन विद्यालयका विद्यार्थी, बाजुरा सेवा समाज, अछाम सेवा समाज, धनगढीको एक मदरसा, पृथ्वीपथ प्रतिष्ठान, राष्ट्रिय सरोकार मञ्च नेपाल, स्वामी श्रीनिवास, लक्ष्मीनारायण मन्दिरका स्वामी श्री १००८ देवराज आचार्य र सर्वसाधारणको उपस्थिति रहेको थियो । १७७९ सालमा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै आएको छ ।
नेपाल एकीकरणका जनक राजा पृथ्वीनारायण शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।
यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने सर्वसाधारणले बताएका छन् ।