नास्ता खर्चबाट बचाएर सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको सुप समावेशी आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । सोही वडामा रहेको दुर्गालक्ष्मी नमुना माविमा गठित दुर्गालक्ष्मी बालक्लबमा आवद्ध विद्यार्थीहरुले सुप समावेशी आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेका हुन ।

दुर्गालक्ष्मी बालक्लबका अध्यक्ष पर्वत कठायतले बालक्लबमा आवद्ध विद्यार्थीहरुले आफ्नो नास्ता खर्चबाट बचाएर जम्मा गरेको रकमले सहयोग गरेको बताए । उनले विद्यालयमा केही चन्दा संकलन गरेर र आफ्नो नास्ता खर्चबाट जोगाएर सुप समावेशी आधारभुत विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको बताए । उनका अनुसार क्लबले सुप समावेशी आधारभुत विद्यालयलाई ८२ वटा कपी, ४४ पाकेट पेन्सिल र ८ पाकेट कलम गरी करिब १० हजारको हाराहारीका सामान सहयोग गरेको हो ।

सामान हस्तान्तरण गर्दै विद्यालयका अध्यक्ष हरिदत्त भट्टराईले पृथ्वी जयन्तीको अवसरमा विद्यालयका विद्यार्थीहरुले देखाएको माया र शिक्षाले आफूलाई आश्चर्यचकित पारेको बताए । उनले विद्यार्थीहरुले पनि सहयोग गर्नुपर्छ भन्ने भावना बालबालिकाहरुमा आएको देखेर आफू हर्षित भएको बताए । उनले बालक्लबका विद्यार्थीहरुले सामाजिक क्षेत्रलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना राख्नु उनीहरुको नैतिक शिक्षाको उपज भएको बताए । उनले बालक्लबलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।

दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १० सम्मका विद्यार्थीहरु क्लबमा आवद्ध हुने गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.