धनगढी : कैलालीको चुरेमा सालको काठ तस्करी बढेको छ । एक महिनामै वन कार्यालयले चुरेको विभिन्न क्षेत्रबाट ठूलो परिमाणको सालको चिरान गरेको काठ बरामद गरेको छ ।
डिभिजन वन कार्यालय कैलालीले चुरेको विभिन्न स्थानबाट एक महिनाको अन्तरालमा ५३१ दशकलव ४८ क्यूफिट सालको चिरान गरेको काठ बरामद भएको जानकारी दिएको छ । सोमवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वनबाट ६ पटक तथा गौरीगङ्गा नगरपालिका वडा नम्बर ६ बाट एक पटक गरी एकमहिनामा सात ठाउँबाट सालको काठ बरामद भएको बताए ।
वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले मंसिर २६ गते आफू कार्यालयमा हाजिर भएको र त्यसपछि चुरे–५ मौरीगाउँबाट वेवारिसे अवस्थामा रहेको १४९ दशमलव ९८ क्यूफिट चिरान साल थान २३० बरामद भएको बताएका छन्। यस्तै, पुस १२ गते गौरीगङ्गा नगरपालिका–६ बाट २५ दशमलव २८ क्युफिट सिसौ, हातेआरा थान एक, एक थान किप्याड मोबाइल र गोदावरी नगरपालिका–७ बस्ने श्यामबहादुर चौधरी र प्रेम चौधरीलाई नियन्त्रणमा लिएको बताएका छन् ।
डिभिजन वन कार्यालय कैलालीले पुस १९ गते चुरे–२ विभिन्न तीन स्थनबाट सालको काठ बरामद गरिएको छ। चुरे–२ को एक सामुदयिक वन क्षेत्रबाट ५९ दशमलव १९ क्युफिट सालको ६८ थान चिरान काठ बरामद गरेको जनाएको छ। यसैगरी, सोही दिन फरक–फरक दुई स्थानबाट क्रमशः ३६ दशमलव ८९ तथा ५१ दशमलव ५१ क्युफिट काठ वेवारिसे अवस्थामा फेला परेको बताइएको छ । डिभिजन वन कार्यालयले पुस २० गते चुरे–२ बाट सालको २७७ थान चिरान काठ बरामद गरिएको र उक्त काठको परिमाण १३९ दशमलव ९७ क्युफिट रहेको ठाकुरले बताएका छन् ।