अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले श्रीमद् भागवत ज्ञान महायज्ञ तथा धान्याञ्चल आयोजना गर्ने भएको छ ।
महायज्ञ यहि माघ २६ गतेदेखि फागुन ३ गतेसम्म संस्थाको कार्यालय रहेको प्राङ्गणमा सञ्चालन हुने संस्थाकी अध्यक्ष जानकी मलासीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइन् ।
महायज्ञका बारेमा जानकारी दिन संस्थाकै परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका संयोजक पदमराज जोशीले सेभ हाउसमा आश्रित बालबालिकाको संरक्षण तथा संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए ।
संस्थाका संरक्षक डा. नरबहादुर मौनीले संस्था सञ्चालन गर्न आर्थिक कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै सोही कारण महायज्ञको योजना बनाइएको बताए । उनले महायज्ञलाई सफल बनाउन सबै धर्मप्रेमी तथा सहयोगी हातहरूलाई साथ दिन आग्रह समेत गरे ।
महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिनेछ । यस्तै माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने आयोजकले जनाएको छ ।
महायज्ञमा बिहान ७ देखि ११ बजेसम्म पूजा–पाठ पारायण, दिउँसो संगितमय झाँकीसहित कथा प्रवचन, साँझ ६ देखि ७ बजेसम्म महाआरती
र राति ७ देखि ९ बजेसम्म महात्म्य कथा झाँकी हुने छ ।
महायज्ञमा नेपालकै चर्चित कथा वाचिका पूज्या देवी सुमि मानवसहित उनको समूहले कथा प्रवचन गर्नेछन् । यस्तै, मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन् ।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ । महायज्ञ सफल पार्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको संयोजकमा धार्मिक व्यक्तित्व पदमराज जोशी रहेका छन् भने तयारीका लागि विभिन्न उप–समिति पनि गठन गरिएको आयोजकले जनाएको छ ।
हाल उक्त सेभ हाउसमा ४० भन्दा बढी अनाथ तथा असहाय बालबालिका आश्रित रहेका छन् । संस्थाको आफ्नै भवन नभएकाले हाल पद्मा अस्पतालले उपलब्ध गराएको भवनमा संस्था सञ्चालन हुँदै आएको छ ।