रेशम चौधरीको उम्मेदवारी खारेज

अत्तरिया : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ।

चौधरीविरुद्ध आयोगमा उजुरी परेको थियो। टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट सफाई पाएका थिए।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएको र राष्ट्रपतिले आममाफी दिएपनि मुलुकी संहितामा त्यो लागू नहुने भएकाले उहाँ राजनीतिक दलको सदस्य समेत बन्न नमिल्ने हुँदा उहाँको उम्मेदवारी खारेज भएको हो।’

निर्वाचन आयोगमा देशभर पाँचजना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। त्यसमध्ये तीन वटा उजुरी खारेज भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज भएको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्।

यस्तै, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो। यी दुवै उजुरी न खारेज भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरी भने विचाराधीन छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.