धनगढी । बैतडीको पुर्चौडीबाट बझाङतर्फ फर्किरहेको जन्ती बोकेको बस दुर्घटनामा परी बझाङले एक शिक्षक गुमाएको छ। मृत्यु हुनेमा बझाङको महादेव माध्यमिक विद्यालय, लिममा कार्यरत शिक्षक विष्णु जोशी रहेका छन्।
बिहिवार बैतडीबाट विवाहको जन्ती लिएर बझाङ फर्किने क्रममा पुर्चौडी नगरपालिका–६ बडचौरमा भएको दुर्घटनामा शिक्षक जोशीको ज्यान गएको हो। उनी विद्यालयमा एक लगनशील र सबैसँग मिलनसार शिक्षकका रूपमा परिचित थिए।
यसअघि सोही दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीसहित १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। एउटै दुर्घटनामा शिक्षक, कर्मचारी र सर्वसाधारणको ज्यान गएपछि बझाङ र बैतडी क्षेत्र यतिबेला गहिरो शोकमा डुबेको छ।
शिक्षक जोशीको निधनले महादेव मावि परिवार, उनका आफन्तजन तथा शुभचिन्तकहरू मर्माहित भएका छन्। सामाजिक सञ्जालमा उनका विद्यार्थी तथा सहकर्मीहरूले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिरहेका छन्।