अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न. १२, ओलानीस्थित ऐतिहासिक श्रीकृष्ण मन्दिरको निर्माण, संरक्षण तथा दीगो व्यवस्थापनका लागि शुक्रबारबाट श्रीमद् भागवत ज्ञान–विज्ञान तथा धन्याञ्चल ज्ञान महायज्ञ औपचारिक रूपमा सुरु भएको छ ।
माघ २३ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस पावन महायज्ञले नगरवासीमा धार्मिक उत्साह र आध्यात्मिक ऊर्जा थपेको छ । महायज्ञको कथा वाचन प्रख्यात कथा वाचक अच्युत शरण धिताल महाराजले गर्दै छन । भागवत कथामार्फत धर्म, संस्कार, ज्ञान र मानवीय मूल्यको सन्देश प्रवाह गरिने आयोजकले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महायज्ञको उद्घाटन गर्दै मन्दिर निर्माण तथा व्यवस्थापनका लागि समुदायको एकता, सहयोग र समर्पण अत्यन्तै आवश्यक रहेको बताए । उनले भने, “मन्दिर केवल पूजा गर्ने स्थल मात्र होइन, यो संस्कार, संस्कृति र समाजलाई जोड्ने केन्द्र हो । यस महायज्ञले धार्मिक चेतना बढाउनुका साथै मन्दिरको दीगो विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।”