अत्तरिया : नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ यतिबेला घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवादमा व्यस्त छन् ।
शनिबार उनले गौरीगंगा नगरपालिका–४ राजीपुरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै औपचारिक भाषणभन्दा बढी समय स्थानीयका समस्या, गुनासा र सुझाव सुन्नमै खर्चिए । शान्त र शालीन शैलीमा जनतासँग घुलमिल भएका उनले स्पष्ट शब्दमा भने, “म पद र शक्तिका लागि होइन, तपाईंहरूका आवाज संसदसम्म पु¥याउन आएको हुँ । तपाईंहरूको दुःखको सारथि बन्न चाहन्छु ।”
राजीपुरदेखि चुरे–४ बालुवागडासम्म पुग्दा उनको सन्देश उस्तै रह्यो—जनताको पक्षमा उभिने प्रतिबद्धता । युवा नेता बिष्टले भने, “पद, प्रतिष्ठा, सुख वा शक्ति चाहिएको भए म गाउँ–गाउँ आउँदैनथेँ । म यहाँ तपाईंहरूको पीरमर्का, दुःख–सुख, चुनौती र सम्भावना बुझ्न आएको हुँ, त्यसको सहयात्री बनेर सदनमा आवाज उठाउने अठोटका साथ आएको हुँ ।”
विश्वकै विकसित मुलुक अमेरिकामा लामो समय बसोबास तथा राजनीतिक नेतृत्वको अनुभव संगालेका बिष्ट आफूलाई ‘टुरिस्ट’ भन्ने आरोपप्रति पनि प्रष्ट देखिए । उनले भने, “संसार देखेको मान्छे नेतृत्वमा आवश्यक हुन्छ । अनुभव र दृष्टिकोणले नै विकासको भिजन दिन सक्छ ।”
दूरदराजबाट जितेर काठमाडौँ पुगेपछि जनतामा नफर्किने पुराना नेताहरूको प्रवृत्तिबाट आजित बनेका स्थानीयलाई ढाडस दिँदै उनले प्रतिबद्धता जनाए, “म यहाँका कृषि, पर्यटन, जडीबुटी, पशुपालन र विकास निर्माणका योजनालाई मूर्त रूप दिन संसदमा आवाज उठाउँछु ।”
जन्मघर डोटी भए पनि पारिवारिक बसोबास कैलाली–४ मै रहेका बिष्टले वैदेशिक रोजगारी नेपालीको बाध्यता बनेको उल्लेख गरे । “म पनि विदेश पुगेँ, तर विदेशिएका दाजुभाइ–दिदीबहिनी स्वदेश फर्कनलायक वातावरण बनाउन राजनीति गर्न मैदानमा आएको हुँ,” उनले भने ।
गोप्कामा आयोजित कार्यक्रममा थारु समुदायका कलाकारहरूले परम्परागत ‘सखिया नाच’ प्रस्तुत गर्दै उनलाई स्वागत गरेका थिए । घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने उनको शैलीलाई मतदाताले प्रेरणादायी भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
बालुवागडामा समेत स्थानीयसँग भेटघाट गर्दै उनले आफू दर्शक नभई दुःख–सुखको सहयात्री बन्ने प्रतिवद्धता दोहो¥याए । उनका अनुसार, आजको युगमा आधारभूत आवश्यकता सुनिश्चित गर्दै लोकतान्त्रिक भविष्य सुरक्षित गर्न नागरिकको सक्रिय भूमिका अपरिहार्य छ ।
“म संसदमा आवाज मात्र होइन, यहाँका समस्या समाधान र परिवर्तनको परिणाम बनेर देखिनेछु,” उनले दृढताका साथ भने ।