देश निर्वाचनको माहोलमा छ । राजनीतिक दलहरू घरदैलो अभियानमा व्यस्त छन्, नाराबाजी र प्रतिबद्धताका सूची सार्वजनिक भइरहेका छन् । तर, आम नागरिकको दैनिकी भने उस्तै छ—उनीहरू आफ्नो रोजीरोटी, खेतीपाती, वैदेशिक रोजगारीको तयारी वा सानातिना व्यवसायमै केन्द्रित देखिन्छन् । निर्वाचनले उनीहरूको मन छुन सकेको छैन ।
राजनीतिक रूपमा प्रतिबद्ध मतदाताहरूले आ–आफ्नो निर्णय पहिल्यै गरिसकेका हुन्छन् । तर ठूलो हिस्सा ओगटेको स्वतन्त्र मतदाता समूह अझै निर्णयमा पुगेको देखिँदैन । निर्वाचन आउन अब तीन हप्ता मात्र बाँकी छ । निर्वाचन आयोग ले प्रचारप्रसारको औपचारिक अवधि सुरु गर्दैछ । यही अवधिमा मतदाताको धारणा कति प्रभावित हुन्छ, कसको पक्षमा लहर बन्छ—त्यसपछि मात्र स्पष्ट हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा नागरिकको दैनिकी फेरिने गरी विकास भएको अनुभूति अझै सशक्त छैन । पहाडका डाँडाहरू खनेर सडक त बनेका छन्, तर तिनको दिगोपनामा प्रश्न उठ्ने गरेका छन् । बर्खामा बग्ने, पहिरोले थुनिने सडकहरूले दीर्घकालीन योजना र गुणस्तरप्रति लापरवाही झल्काउँछन् ।
युवाहरू रोजगारीका लागि बाहिरिन बाध्य छन् । कृषिमा आधुनिकीकरण सुस्त छ । स्वास्थ्य र शिक्षामा पहुँच विस्तार भए पनि गुणस्तरमा सुधार सन्तोषजनक छैन । विकासका नाममा भएका गतिविधि दीर्घकालीन रणनीति बिना नै अघि बढेको गुनासो व्यापक छ ।
भदौ २२ र २३ गतेको जेन्जी आन्दोलनले सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा ठूलो क्षति पु¥यायो । यस घटनाले यहाँको सामाजिक, आर्थिक र राजनीतिक संवेदनशीलतालाई उजागर ग¥यो । जनताको असन्तुष्टि केवल नारामा सीमित छैन; त्यो व्यवहारिक परिवर्तनको अपेक्षासँग जोडिएको छ ।
आन्दोलनले दिएको सन्देश स्पष्ट छ—सुदूरपश्चिमलाई केवल भौगोलिक रूपमा टाढाको प्रदेश ठानेर बेवास्ता गर्ने समय सकिएको छ । यहाँका समस्या राष्ट्रिय प्राथमिकतामा पर्नैपर्छन् ।
सरकारमा रहेका तथा सत्ताबाहिर रहेका सबै राजनीतिक दलहरूले अब गम्भीरता देखाउन जरुरी छ । चुनावी घोषणापत्र केवल कागजी प्रतिबद्धता बन्नु हुँदैन । सुदूरपश्चिमका लागि विशेष नीति, दिगो पूर्वाधार, स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र विपद् व्यवस्थापनको प्रभावकारी योजना आवश्यक छ ।
नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरू सुदूरपश्चिमका मुद्दामा गम्भीर बन्न अपरिहार्य छ । जनताको धैर्यता सीमित छ । अब उनीहरू भाषण होइन, परिणाम खोजिरहेका छन् ।
अहिले मौन बसेका स्वतन्त्र मतदाताहरू अन्तिम समयमा निर्णायक शक्ति बन्न सक्छन् । प्रचारप्रसारको अवधिमा दलहरूले भावनात्मक नाराभन्दा यथार्थपरक कार्यक्रम र विश्वासिलो नेतृत्व प्रस्तुत गर्न सके मात्र उनीहरूको मन जित्न सम्भव हुनेछ ।
निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया होइन; यो जनविश्वास पुनस्र्थापनाको अवसर पनि हो । सुदूरपश्चिमका नागरिकले यसपटक आफ्नो मतमार्फत विकास, स्थायित्व र जवाफदेहिताको स्पष्ट सन्देश दिन सक्छन् । दलहरूले त्यो सन्देश बुझ्न ढिलो गर्नुहुँदैन ।
सम्बन्धित पाेस्टहरु