आज महाशिवरात्रि : गोदावरी नगरको बन्दगडामा रहेको मष्टाधाममा शिवरात्री मेला लाग्ने

अत्तरिया : महाशिवरात्रिको अवसरमा आज शिवालयमा विहानदेखि भक्तजनको भिड लागेको छ । कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा रहेको मष्टाधाममा शिवरात्री मेला लाग्दैछ ।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले मष्टाधाममा प्राणप्रतिष्ठा गरी पुजाको कार्य सुरु गरिएसँगै पहिलो पटक शिवरात्री मेला आयोजना गर्न लागिएको बताए । उनले शिवरात्री पर्वको अवसरमा मेलाको आयोजना गर्न लागिएको बताए । उनले धाममा रहेको शिवस्थान र शिवलिङ्गमा पर्कलो चढाउने कार्यका साथै मेलामा देउडा समेत खेलिने बताए ।

‘पुजा सुरु भएसँगै पहिलो पटक हामीले मष्टाधाममा शिवरात्री पर्वको अवसरमा मेला लगाउन थालेका छौँ’ उनले भने ‘धाममा रहेको शिवस्थानमा पर्कलो चढाउने र त्यसपछि देउडाको कार्यक्रम राखिएको छ ।’ उनले शिवस्थानमा पर्कलो चढाउने समय दिउँसो १ बजेदेखी रहेको र त्यसपछि देउडा खेल्ने कार्यक्रम रहेको स्पष्ट पारे ।
यस्तै, धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुँदैछ ।
सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहले जानकारी दिए ।

शाहले भने, “फागुन ३ गते बिहान ४ बजे मन्दिरका चारै ढोका खुला गरी विधिवत् पूजा प्रारम्भ गरिनेछ । बिहान ८ः३० बजेदेखि बेलुकी ४ः३० बजेसम्म पूर्णआहुती सहित तिलक तथा प्रसाद वितरण गरिने कार्यक्रमसँगै बेलुका ४ बजे ५१ लाख बत्ती प्रज्वलन गरिने छ ।”

बेहडाबाबा मन्दिरमा नेपाली मात्र नभएर भारतीय तीर्थालुहरू ठुलो सङ्ख्यामा भारतबाट पैदल यात्रा गरेर पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन् । धार्मीक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्धनसँग जोड्न पनि शिवरात्री मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.