हरेक वर्ष महाशिवरात्रि श्रद्धा, भक्ति र आस्थाका साथ मनाइन्छ । भगवान शिवप्रति समर्पित यो पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, हाम्रो सांस्कृतिक पहिचान, परम्परा र सामूहिक चेतनासँग जोडिएको एउटा महत्वपूर्ण अवसर पनि हो । तर पछिल्ला केही वर्षदेखि मन्दिरहरूमा बढ्दो भीड, देखासिकी प्रवृत्ति र सामाजिक सञ्जालको प्रभावले यस पर्वको मौलिकता नै प्रश्नको घेरामा पर्न थालेको छ ।
पहिले महाशिवरात्रि मनाउँदा श्रद्धालुहरू मौन, संयम र भक्ति भावका साथ मन्दिर पुग्थे । आज भने अवस्था केही फरक देखिन्छ । मन्दिरसम्म पुग्ने भक्तजनको संख्या उल्लेख्य रूपमा बढेको छ, तर त्यससँगै देखावटीपन पनि बढेको अनुभूति हुन्छ । श्रद्धाभन्दा पनि फोटो खिच्ने, भिडमा उपस्थिति देखाउने र सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्ने होड चलेको छ । धार्मिक आस्थाभन्दा ‘भाइरल’ बन्ने चाहना हावी भएको देखिन्छ ।
यो प्रवृत्ति महाशिवरात्रिमा मात्र सीमित छैन ।
अन्य चाडपर्वहरूमा पनि यस्तै अवस्था देखिन्छ । अझ दुःखको कुरा, मानिसको मृत्युजस्तो संवेदनशील क्षणमा समेत फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढ्दो छ । संस्कार र संवेदनशीलताको सीमाना मेटिँदै गएको जस्तो भान हुन्छ । समाजमा के प्रभाव पर्छ भन्नेभन्दा पनि कसरी धेरै ‘लाइक’ र ‘सेयर’ पाइन्छ भन्ने सोच हावी भएको देखिन्छ ।
सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन । यसले संस्कृति र परम्पराबारे जानकारी फैलाउन, युवापुस्तालाई जोड्न र सकारात्मक चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यसको दुरुपयोगले हाम्रो संस्कारलाई कमजोर बनाउने खतरा छ । संस्कृति जोगाउने नाममा गलत अभ्यासलाई प्रोत्साहन गर्नु हुँदैन । आस्था प्रदर्शनको विषय होइन, आत्मअनुभूतिको विषय हो ।
मन्दिरहरूमा थामिनसक्नु भीड हुनु गर्वको कुरा हुन सक्छ, तर त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित निकायको हो भने संस्कारको मर्यादा जोगाउने दायित्व हरेक नागरिकको हो । परम्परादेखि मनाउँदै आएको प्रचलनलाई समयअनुसार परिमार्जन गर्न सकिन्छ, तर त्यसको मूल आत्मा जोगाउनै पर्छ ।
आज आवश्यक छ—आफ्नो संस्कारप्रति सजगता, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र देखासिकीभन्दा आन्तरिक श्रद्धालाई प्राथमिकता । संस्कृति माथि प्रहार गरेर होइन, त्यसको संरक्षण र सुधारमार्फत मात्र समाज सुदृढ बन्छ ।
संस्कार जोगाउने दायित्व सबैको हो । तर गलत प्रवृत्तिलाई मौन समर्थन गर्नु संस्कार जोगाउनु होइन । अब समय आएको छ—भाइरल होइन, विवेकशील बन्ने ।