अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–११ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूले देशको स्वाधीनता, स्थायित्व र विकासका सवालमा स्पष्ट अडानका साथ आफ्ना विचारलाई केन्द्रमा राखेर निर्णय गर्न सक्ने क्षमता एमालेसँग भएकाले पार्टी रोजेको बताएका छन् । एमाले प्रवेश गर्नेहरूमा सानू चौधरी, गोरख धामी, मोतिलाल बोहरा र मानबहादुर चौधरी रहेका छन् ।
उनीहरूलाई एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्ट ले खादामाला लगाएर पार्टीमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै नेता भट्टले राष्ट्रहित, समृद्धि र सुशासनका लागि एमाले सधैं अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताए ।
उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए । नवप्रवेशी नेताहरूले यस क्षेत्रमा लेखराज भट्ट बराबरको सक्षम र प्रभावशाली नेतृत्व नभएको दाबी गर्दै उनलाई नै अत्यधिक मतका साथ विजय गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
साथै, आफूहरूसँगै अन्य व्यक्तित्वहरू पनि निकट भविष्यमा एमाले प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराए । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
एमालेमा नयाँ प्रवेशसँगै गौरीगंगा–११ को राजनीतिक गतिविधि थप सक्रिय बनेको विश्लेषण गरिएको छ ।
सम्बन्धित पाेस्टहरु