कैलाली-४ का उम्मेदवार लेखराज भट्टले सार्वजनिक गरे विकासका लागि प्रतिबद्धता

अत्तरिया : प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४, कैलालीका एमाले उम्मेदवार लेखराज भट्टले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आज अत्तरियामा आफ्नै निवासमा पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । उनले शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। प्रतिबद्धता पत्रमा सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको समग्र विकासका लागि विशेष योजना अघि सारिएको उल्लेख छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली र आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। शिक्षक तथा कर्मचारीको सेवा–सुविधा सुधार, पेशागत सुरक्षा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल समावेश गरिएको छ। स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञ सेवा विस्तार, जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिइने बताइएको छ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने योजना पनि अघि राखिएको छ। कृषि क्षेत्रका लागि आधुनिक प्रविधि, उन्नत बीउ, मल, यान्त्रिकीकरण, सिँचाइ सुविधा विस्तार, कृषि बीमा र कृषि आधारित उद्योग स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। तरकारी, फलफूल र स्थानीय उत्पादनको संरक्षण तथा प्रवद्र्धनका लागि शीत भण्डार र बजार व्यवस्थापनमा पहल गरिने जनाइएको छ।
औद्योगिकीकरण र रोजगारी सिर्जनामा औद्योगिक क्षेत्र विस्तार, औद्योगिक कोरिडोर विकास र सीपमूलक तालिम सञ्चालन गरी दलित, पिछडिएका र गरिबी रेखामुनि रहेका नागरिकलाई आत्मनिर्भर बनाउने योजना समावेश गरिएको छ।

धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनतर्फ धार्मिक स्थल, सांस्कृतिक सम्पदा संरक्षण, संग्रहालय स्थापना र होमस्टे प्रवद्र्धनमा जोड दिइने छ। भौतिक पूर्वाधारमा सडक, पुल, तटबन्ध, विद्युतीकरण र खानेपानी व्यवस्थापनमा पनि ध्यान दिइने प्रतिबद्धता जनाइएको छ। भट्टले विकास, स्थायित्व र समृद्धिका लागि पुनः निर्वाचित हुन मतदातासँग अपिल गर्दै आफ्नो प्रतिबद्धता कार्यान्वयनमा ल्याउने दाबी गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.