राससको ६५ औं वार्षिकोत्सव, धनगढीमा अन्तरक्रिया कार्यक्रम

अत्तरिया : राष्ट्रिय समाचार समिति (रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा धनगढीमा भएको अन्तरक्रियामा पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र प्रविधिमैत्री सेवाको विस्तारमा जोड दिएका छन् ।
वक्ताहरूले राससलाई समयानुकूल परिमार्जन गर्दै मल्टिमिडिया पत्रकारितातर्फ उन्मुख गरिनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अंग भएको बताउदैँ यसले सरकारलाई सचेत गराउने, जनताको आवाज बोल्ने र सुशासन प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रदेश सरकारले ‘आम सञ्चार विधेयक’ प्रदेश सभामा दर्ता गरिसकेको जानकारी दिँदै यसले सञ्चार क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे ।
राससको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए । उनले पत्रकारहरूको वृत्तिविकासका लागि २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी यसबाट पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएका छन् ।
कार्यक्रममा सहभागी पत्रकारहरूले राससलाई परम्परागत शैलीबाट मुक्त गरी अडियो, भिडियोसहितको मल्टिमिडिया सेवामा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । महासंघका प्रदेश महासचिव शिवराज भट्टले राससमा हुने राजनीतिक नियुक्तिको अन्त्य गरी व्यावसायिक र पूर्णकालीन पत्रकारलाई मात्र जिम्मेवारी दिनुपर्नेमा जोड दिनुपर्ने बताएका हुन ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने र भ्युज बढाउने होडबाजीले पत्रकारिताको मर्यादामा असर पु¥याएको पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउबाले बताए । सम्पादन नगरिएका सामग्रीहरू सिधै सामाजिक सञ्जालमा प्रकाशन गर्ने प्रवृत्तिले पत्रकारितामाथि आक्रमण बढाइरहेको उनीले बताए । तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूले कुनै पनि राजनीतिक दलको प्रभावमा नपरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उनले बताए । सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण पत्रकारको मूल दायित्व भएको कारण आचारसंहिता उल्लंघन गरी एकपक्षीय प्रचारप्रसारमा संलग्न भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने चेतावनी समेत उनले दिए ।

सहभागीहरूले राससलाई आगामी दिनमा अझ परिष्कृत, प्रविधिमैत्री र विश्वसनीय राष्ट्रिय समाचार एजेन्सीका रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.