धनगढी । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र कारागारका कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । कर्मचारी, सेना, प्रहरी, कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था छ । जिल्लाका अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेमा ४० कैदीबन्दी सहित चार हजार १९६ मतदाता छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने स्थायी मतदाताको कूल सङ्ख्या भने कूल पाँच लाख ५१ हजार ५२ छ । दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने मतदाताका लागि जिल्लाभरी २३७ मतदान स्थल तोकिएको छ ।
निर्वाचन कार्यालयले हाल धमाधम मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि प्रशिक्षण सञ्चालन गरिरहेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा केन्द्रबाट मतपत्र सहितको निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ ।
निर्वाचनका लागि ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ ।
वडामा परिचालित मतदाता शिक्षा स्वयंसेवीले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन्।