कर्ण मल्ललाई घर फर्किन डडेल्धुरा कांग्रेसको आग्रह

धनगढी : फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन लाग्दा नेपाली कांग्रेस डडेल्धुराले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान गरेको छ ।
नेपाली कांग्रेसले स्वतन्त्रता, समानता, लोकतन्त्र, संविधान र अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिहरूसँग एकता कायम गर्न खुला छलफलको पहल गरेको जनाएको छ । पार्टीले आफ्ना सबै नेता, कार्यकर्ता र सदस्यलाई पनि साझा रणनीतिमा गोलबद्ध हुन सार्वजनिक अपिल गरेको छ ।

यसै सन्दर्भमा डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरिएको छ । जिल्ला सभापति भीमबहादुर साउदले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन ती सबै नेतालाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

हाल यी सबै नेता नेपाली कांग्रेस विपीमा सक्रिय छन् । उनीहरु जिल्ला अधिवेशनमा आफूहरुलाई बाइपास गरेको भन्दै कार्यकर्तासहित नेपाली कांग्रेस विपी मा गएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.