अत्तरिया : लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो अभियानलाई तीव्रता दिँदै जनताको माझ पुगिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार रहेका भट्ट गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरी मत माग्न व्यस्त छन् ।
घरदैलो अभियानका क्रममा भट्टले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझावहरू सुन्ने काम गरिरहेका छन् । उनले आफू निर्वाचित भएमा कैलाली क्षेत्रको मात्र नभएर सुदूरपश्चिमको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय मतदाताले पनि भट्टसँग आफ्ना समस्या राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । सडक, खानेपानी, सिंचाइ, शिक्षा र स्वास्थ्य सेवा विस्तारका विषयमा जनताले विशेष चासो व्यक्त गरेका थिए ।
भट्टले जनताको विश्वास र साथले नै आफू उत्साहित बनेको बताउँदै विगतका अनुभव र योजनाका आधारमा कैलाली–४ लाई विकासको नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए । एमालेका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागितामा सञ्चालन भइरहेको घरदैलो अभियानले चुनावी माहोल थप तातेको छ । अभियान अन्तर्गत आगामी दिनमा क्षेत्रका अन्य बस्तीहरूमा पनि भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।