राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानको संरक्षण पहिलो प्राथमिकता : लेखराज भट्ट

अत्तरिया । अत्तरिया जेसिसद्वारा आयोजित कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँगको प्रत्यक्ष संवाद कार्यक्रममा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानको संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै भट्टले राष्ट्रको हितलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सरोकारवाला निकाय र आम जनतासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले समृद्ध राष्ट्र निर्माणका लागि स्थिरता, सहकार्य र स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे।

भट्टले आफूले पहल गरेका तथा निर्माण प्रक्रिया अघि बढिसकेका महत्वपूर्ण पूर्वाधार आयोजनाहरूलाई पूर्णता दिन विशेष पहल गरिने बताए। उनले सेती लोकमार्ग, महाकाली करिडोर र खुटिया–दिपायल फास्ट ट्र्याक जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू सुदूरपश्चिमको समग्र विकासका आधार स्तम्भ भएको उल्लेख गर्दै ती योजनाहरूलाई छिटो सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, सुख्खा बन्दरगाह निर्माण कार्यलाई पनि पूर्णता दिई क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाइने बताए।

उनले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र संस्कारयुक्त समाज निर्माणमा विशेष ध्यान दिइने बताए। त्यसैगरी राजधानी निर्माण प्रक्रिया अगाडि बढाउने, भूमिहीन नागरिकलाई भूमि व्यवस्थापन गर्ने, सडक स्तरोन्नति गर्ने तथा कृषिमा आधारित उद्योग स्थापना गरी उत्पादनलाई सहज रूपमा बजारसम्म पु¥याउने वातावरण सिर्जना गरिने उनले बताए।

भट्टले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै कैलाली क्षेत्र नम्बर ४ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्रका रूपमा स्थापित गर्ने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गरे। कार्यक्रममा अन्य उम्मेदवारहरूले पनि आ–आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए भने सहभागीहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्नोत्तर समेत गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.