धनगढी : उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर २ मा उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले मतदानको अघिल्लो दिन आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । पार्टी नै परित्याग गरेर उनी आफ्नो उम्मेदवारीबाट पछि हटेका हुन् ।
परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिएको साउदको भनाइ छ । अब रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने उनले बताए । उनले भने, ‘अहिले बच्चादेखि बुढासम्मले रास्वपा र घण्टीको नाम लिइरहेका छन् । यस्तो बेला कञ्चनपुर २ मा पनि वैकल्पिक शक्तिहरूको मत विभाजन नहोस् भनेर मैले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको हुँ ।’
उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको पनि बताए । अब आफ्नो समर्थन रास्वपालाई नै हुने उनले प्रष्ट पारे । ‘उहाँ पनि एउटा युवा उम्मेदवार हुनुहुन्छ । युवा–युवा मिल्नुपर्छ भन्ने हिसाबले पनि मैले उहाँलाई समर्थन जनाएको छु,’ साउदले भने ।