अत्तरिया : सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा आज (बिहीबार) बाट मतदान सुरु भएको छ । अहिले ७ बजे सुदूरपश्चिम प्रदेशभरिका १ हजार १ सय ७६ मतदान स्थल रहेका छन् । अहिले विहान ७ बजेदेखि सुरु हुने मतदान वेलुकी ५ बजे सम्म जारी रहने छ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ ।
आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने हो । आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।
मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार आज हुने मतदान कार्यका लागि आवश्यक अन्तिम तयारी सकिएको छ । कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी, मतपत्र र मतपेटिका लगायतका सामग्री सुरक्षित रूपमा पुगिसकेको र बुथ निर्माण कार्यहरु पनि सम्पन्न भएका छन ।
सुरक्षा संवेदनशीलताका हिसाबले मतदान स्थल र केन्द्रहरूलाई वर्गीकरण गरिएको छ । जस अनुसार ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ भने ३९५ मतदान स्थललाई ‘संवेदनशील’ मानिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान प्रक्रियालाई सहज र मैत्रीपूर्ण बनाउन महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइन तथा बुथको व्यवस्था गरिएको छ । निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारीहरू सम्बन्धित स्थानमा पुगिसकेका छन् । ‘हामीले १८ गते नै ९ वटै जिल्लामा खबर गरेका थियौँ । निर्वाचन अधिकारी र मुख्य निर्वाचन अधिकृतहरूसँग निरन्तर सम्पर्क भइरहेको छ । कैलाली जिल्लाको हकमा ६ सय ४१ वटै मतदान अधिकृतहरूसँग फोन सम्पर्क गरी तयारीबारे जानकारी लिएका छौँ ।’
यसैगरी, प्रमुख भट्टले बुधबार कैलाली निर्वाचन क्षेत्र नम्बर ४ र ५ का करिब ४० वटा मतदान केन्द्रको स्थलगत निरीक्षण समेत गरेका थिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रदेशभर ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले मतदान स्थलको सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनाको एकीकृत टोली खटाइएको जानकारी दिए ।
सुरक्षा अधिकारीहरूका अनुसार प्रदेशभर ७ हजार ९८ नेपाल प्रहरी र १३ हजार ६४७ म्यादी प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । यस्तै, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख एवं वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदीले ५ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।
नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि ५ हजारभन्दा बढी सैनिकलाई चुनावी सुरक्षामा उतारेको छ ।
प्रदेशका ९ जिल्लामा कुल १७ लाख १६ हजार ६ सय ६० मतदाताले मताधिकार प्रयोग गर्दै छन् । सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ ।
आयोगका अनुसार ८ लाख ६४ हजार ४२३ महिला, ८ लाख ५२ हजार २१९ पुरुष र १८ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी मतदाता कैलाली जिल्लामा छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाताका लागि २३७ मतदान स्थल र ६४१ केन्द्र तोकिएको छ । ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, २ क्षेत्र रहेको अछाममा १ लाख ६५ हजार ३३७ र बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता छन् ।
त्यस्तै, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३, डडेल्धुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।